पर्यटन/संस्कृति

एशिया प्रशान्त सम्मेलनः नेपालको पर्यटकीय प्रवर्धन

प्रकाश सिलवाल/ भीष्मराज ओझा, काठमाडौँ । नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’बाट नेपालले घोषणा गरेको ‘ नेपाल पर्यटन वर्ष २०२०’ प्रवर्धन हुने भएको छ ।

नेपालमा गत भदौमा सात राष्ट्रसम्मिलित बिम्स्टेक सम्मेलपछिको बृहत् यो सम्मेलनबाट नेपालको पर्यटकीय प्रचारप्रसारमा समेत टेवा पुग्ने मानिएको छ । सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुको पनि सहभागिता हुने छ । सम्मेलनमा छ राष्ट्र÷ सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा भाग लिन तथा नेपालको औपचारिक भ्रमणका लागि विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुख र विशिष्ट पाहुना काठमाडौँ आउने क्रम जारी छ । सम्मेलनले नेपालको सफल शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणपछिको रुपान्तरणका प्रक्रियाका बारेमा विश्वव्यापी सन्देश दिनेछ । ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयको सम्मेलनका लागि विशिष्ट अतिथिको आगमन बुधबारदेखि शुरु भएको थियो ।

साक्रममा आज म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौँ आई द्विपक्षीय भेटघाट र अन्य कार्यक्रममा व्यस्त भएका छन् । सम्मेलनका साथै नेपालको औपचारिक भ्रमणका क्रममा रहेका उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन् । कम्बोडियासँग नेपालको हवाई सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत हुने कार्यक्रमले भ्रमणको महत्व बढाएको छ ।

त्यस्तै टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी पनि आजै काठमाडौँ आएका छन् । सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आएका थिए ।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्था सम्मेलनको आयोजक छन् । युपिएफ संयुक्त राष्ट्र सङ्घ, आर्थिक तथा सामाजिक परिषद्बाट मान्यताप्राप्त संस्था हो । विश्वका १५५ मुलुकमा यसको क्रियाशीलता छ ।

आजदेखि यही मङ्सिर १७ गतेसम्म काठमाडौँमा हुने सम्मेलनका लागि नेपाल सरकारले सुरक्षा प्रबन्ध गरेको छ । विशिष्ट पाहुनाको सुरक्षा र यातायातको व्यवस्थापन नेपाल सरकारले तथा सम्मेलनको अन्य व्यवस्थापन आयोजक समितिले गरेको समितिका सहसंयोजक एकनाथ ढकालले जानकारी दिए । नेपाल सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’को नारालाई सहयोग गर्न सम्मेलनले मुख्य जोड दिने उनले बताए ।
सम्मेलन आयोजनाका लागि पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्ल र फिलिपिन्सको संसद्का पूर्वसभामुख तथा आइक्यापका संस्थापक अध्यक्ष जोसे डे भेनेसिया जुनियर पनि आबद्ध हुन् ।

शान्ति प्रक्रियाबारे विश्वलाई सन्देश

सम्मेलन आयोजक समितिका शिष्टाचार अधिकृत काशीनाथ खनालले विश्वका विद्यमान चुनौतीको सामना कसरी गर्न सकिन्छ भन्नेबारेमा बहस गरी निचोड निकाल्न सम्मेलन उपयोगी हुने बताए । उनले नेपालको शान्ति सम्झौता र लोकतान्त्रिक आन्दोलनपछिको रुपान्तरण प्रक्रिया विश्वमै उदाहरणीय रहेका सन्दर्भमा नेपालमा सम्मेलन हुनाले त्यसको समेत सन्देश प्रवाह हुने जनाए । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको अवस्थामा सम्मेलनमा ४५ मुलुकका एक हजार पाँच सय विशिष्ट पाहुनाको सहभागिताले नेपालले प्रत्यक्ष लाभ लिन सक्ने पनि खनालले प्रतिक्रिया दिए ।

विषयगत कार्यसूची

सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहभागी मुलुकका सरकार तथा राष्ट्रप्रमुखबाट सम्बोधन हुनेछ भने सम्मेलनमा सात सत्रमा विषयगत छलफल हुनेछ । उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसद्हरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘ वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयका सत्र हुनेछन् । ती सत्रमा विज्ञको प्रस्तुति र छलफल हुनेछ । हाल विश्वमा गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पतन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, शस्त्रको होडबाजीजस्ता चुनौती देखिएको छ ।

छ राष्ट्र/सरकार प्रमुख सहभागी

यस्तो सम्मेलन गत वर्ष अफ्रिकाको सेनेगलमा भएको थियो जहाँ ५४ देशका विशिष्ट प्रतिनिधिको सहभागिता भएको सहसंयोजक ढकालले जानकारी दिए । त्यसअघि यस प्रकारको सम्मेलन यसअघि रुस, संयुक्त राज्य अमेरिका, इण्डोनेसियालगायत स्थानमा भइसकेको छ ।

सवारीमा जोर बिजोर

अतिविशिष्ट र विशिष्ट पाहुना आउने भएपछि ट्राफिक व्यवस्थापनका लागि ध्यान दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा आजदेखि चार दिन जोर बिजोर प्रणाली लागु गरेको छ ।
गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले सो प्रणाली लागु गरेको हो । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने छुट दिइएको छ ।