पु.समाचार

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै , पदाधिकारी थप्ने/नथप्नेबारे विवाद कायमै

काठमाडौं । नेपाली कांग्रेस कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । केन्द्रीय समितिको बैठक बस्नु अघि कांग्रेसका नेताहरू छलफलमा व्यस्त रहेका छन् ।

बुधबार दिनभर नै गुटगत भेला भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार निवासमै निकट पदाधिकारी र केन्द्रीय सदस्यसँंग छलफलमा व्यस्त बने । त्यही बेला महामन्त्री शशांक कोइराला निवासमा पनि संस्थापनइतरको उस्तै छलफल चलिरहेको थियो ।

प्रस्तावित मस्यौदामा केन्द्रीय कार्यसमिति ८५ बाट बढाएर १ सय ३१ सदस्यीय बनाइँदा पनि पदाधिकारी नथपिएको विषयलाई संस्थापन इतरपक्षले मुद्दा बनाएको छ । केन्द्र र संघीय कार्यसमितिका सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने संस्थापनइतरको अर्को अडान छ ।

दुवै पक्षबीच पदाधिकारी थप्ने–नथप्नेबारेमा पनि विवाद कायमै रहेको छ । पदाधिकारी संख्यामा दुवै पक्षका महाधिवेशन लक्षित रणनीति गाँसिएका छन् । त्यही रणनीति बनाउन गुटगत भेला भएका हुन् ।

मस्यौदामा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचनबाट आउने, उपसभापति, एक महामन्त्री र सहमहामन्त्री सभापतिबाट मनोनयन गर्ने र केन्द्रीय कार्यसमिति निर्वाचित सदस्यबाट अनुमोदन गराउनुपर्ने पुरानै प्रावधान प्रस्ताव गरिएको छ । अध्ययनका लागि मस्यौदा केन्द्रीय सदस्यहरुलाई बाडिएको छ ।

संस्थापन पक्षको भेलामा सभापतिलाई मनोनयन सहज बनाउनुपर्ने माग उठेको छ । उता, नुवाकोटमा जारी जिल्ला सभापतिहरुको भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिले पार्टीका तल्ला संरचनालाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले केन्द्रीय सभापतिलाई २५ प्रतिशत सदस्य मनोनयन गर्ने प्रस्तावित विधानको प्रवाधानप्रति असन्तुष्टि जनाएका छन् ।

कांग्रेसमा गुटगत राजनीति हावी हुँदा अहिले आआफ्नै पक्षका भेला चल्दै छन् । दुवै बैठक विधानको प्रस्तावित मस्यौदामा नमिलेका विषयमाथि नै केन्द्रित भएका नेताहरूले बताएका छन् । दुवै पक्षबीच पदाधिकारी थप्ने–नथप्नेमा पनि रस्साकसी छ । पदाधिकारी संख्यामा दुवै पक्षका महाधिवेशन लक्षित रणनीति गाँसिएका छन् । त्यही रणनीति बनाउन गुटगत भेला भएका हुन् ।