राजनीति

नेकपाका प्रदेश कमिटीले पूर्णता पायो, आज नाम सार्वजनिक

काठमाडौं । लामो समयको रस्साकस्सीपछि प्रमुख सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।

प्रदेश कमिटीको संयोजक, सहसंयोजक, अध्यक्ष र सचिव यसअघि नै नेकपाले पूर्णता दिइसकेको थियो । सदस्यहरु टुंग्याउन सकेको थिएन । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको कार्यदलले दिएको प्रस्तावका आधारमा प्रदेश कमिटीले पूर्णता पाएको छ ।

प्रत्येक सदस्यका नाममा छलफल गरी प्रदेश कमिटीलाई पूर्णता दिएका छौ, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने अब जनबर्गिय संगठन र केन्द्रीय समितिको जिम्मेवारी तोक्ने तयारी गरेका छौ । जनबर्गिय संगठन र केन्द्रीय सदस्यको जिम्मेवारी एकै टुंग्याउने तयारी नेकपाले गरेको छ ।

प्रदेश कमिटीका सदस्यहरुको नाम विहीबार सार्वजनिक हुने भएको छ । पार्टी मुख्यालय धुम्वाराहीबाट नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रदेश कमिटीलाई पूर्णता दिएपनि जिल्ला कमिटीहरु भने अझै गठन भइसकेका छैनन् । सवैभन्दा बढि सकस जिल्ला कमिटी र जनबर्गिय संगठनहरुमा छ ।