बाग्मती

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

काभ्रेपलाञ्चौक । मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वको छानबिन समितिले अनुसन्धान गरिएकामा मङ्गलबारदेखि पुर्पक्षमा राखेर छानबिन गरिएको हो । उक्त दुर्घटनामा घाइते डिआइजी भण्डारीलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा र २४ वर्षीय पत्रकार जीवन पराजुली तथा टे«ड युनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । छ जना सवार बा३च २८७ नंको ल्याण्डक्रुजर कच्ची सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

घटनामा गम्भीर घाइते पूर्व प्रहरी नायबउपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते चालक बोगटी र अर्का धनराज पुरी दुर्घटनाको दुई दिनपछि अस्पतालबाट घर गएका थिए । चालक बोगटीका आफन्तले मृतकका आश्रित परिवारले नियमानुसार पाउने किरिया खर्च तथा क्षतिपूर्तिवापतको जनही रु पाँच लाखका दरले रु १५ लाख यही मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरेको थियो ।