प्रवास

अमेरिकामा देउसी–भैलोबाट १ लाख १६ हजार डलर सङ्कलन, आठ वर्ष देखि ८१ वर्षसम्मकाले गरे दान

वासिङ्गटन डिसी । नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) – पशुपति बुद्ध मन्दिरले यस वर्षको देउसी –भैलो मार्फत मन्दिर निर्माणका लागि ११६,००० (एक लाख सो¥ह हजार) अमेरिकी डलर रकम दान उठाउन सफल भएको छ ।

वासिङ्गटन डिसी मेट्रो क्षेत्रका राज्य लगायत अन्य राज्यहरु र विदेशबाट समेत दान सहयोग प्राप्त गर्न सफल यस वर्षको देउसी–भैलो कार्यक्रममा ८ वर्ष देखि ८१ वर्षसम्मका व्यक्तिहरु कार्यक्रममा सहभागी भई मन्दिर निर्माण कार्यमा दान सहयोग गरेको कुरा एनइसीसीले हालै जारी गरेको प्रेस व्यक्तव्यमा जनाएको छ ।

एनइसीसीले जनाए अनुसार सन् २०१४ देखि डिसी महानगर क्षेत्रमा द्यौसी–भैलो कार्यक्रम शुरु गरेको थियो । ‘द्यौसी भैली मार्फत मन्दिर निर्माणमा सहयोग जुटाउने, नेपाली संस्कृतिलाई समुदायका सदस्यहरुको घर आगनमा पु¥याउने र दोश्रो पुस्ताहरुलाई सकेसम्म सहभागि गराउने साथै यसै मार्फत संस्था र समुदायको सम्वन्ध अझ बलियो बनाउने उद्धेश्य सहित देउसी –भैला सञ्चालन गरिएको हो ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तीमा उल्लेख गरे अनुसार यस वर्ष एनइसीसीबाट ६ दिन लगाएर डिसी, मेरिलैण्ड र भर्जिनाया राज्यका विभिन्न २२ स्थानमा द्यौसी–भैली खेलिएको थियो । जसमध्ये अमेरिका स्थित नेपाली राजदूतावासमा राजदूत, दूतावासका कर्मचारीहरु तथा नेपाल सरकारका पूर्व मन्त्री तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय समेतको उपस्थितिमा खेलिएको थियो ।

उक्त स्थानहरु मध्ये सवै भन्दा धेरै ३४,००१ अमेरिकी डलर दान सहयोग एनपीपीएको कार्यक्रममा संकलन गरेको देखिन्छ । एनइसीसीका अनुसार सो सहयोग रकम संकलन हुनमा एनपीपीएका अध्यक्ष राजु जोशि, संस्थापक अध्यक्ष राम मालाकार तथा निवर्तमान अध्यक्ष सरोज प्रजापतिको विशेष भूमिका रहेको थियो । यसै गरि दोश्रो धेरै सहयोग २८,३६३ अमेरिकी डलर नविन तथा सरला नेपालको घरमा खेलिएको देउसी –भैलीबाट संकलन गर्न सफल भएको जसमा डिसी महानगर क्षेत्र बाहिरबाट समेत दान प्राप्त भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा द्यौसी–भैलो कार्यक्रममा खट्ने सम्पूर्ण कलाकारहरु, देउसी–भैलो कार्यक्रमलाई आफ्नो घरमा सञ्चालन गर्न आमन्त्रण गर्ने दाताहरु, राम्रो व्यवस्थापनमा गरेर कार्यक्रमलाई सफल बनाउने स्वयंसेवक तथा संस्थाका सदस्यहरु, मिडिया तथा सञ्चारकर्मीहरु लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

देउसी–भैलो कार्यक्रम मन्दिरको एउटा महत्वपूर्ण कार्यक्रम हुंदै आइरहेको छ । समुदायमा संस्था आफैं पुग्ने र समुदायबाट नै दान सहयोग जुटाउने यो एउटा प्रभावकारी कार्यक्रम रहेको पाएका छौँ । सन् २०१४ देखि यस पल्टको पाँचौ वर्षसम्म एक ठाउँ, एक दिन समेत नछोडी, आफ्ना सबै कामहरुलाइ पन्छाएर अहोरात्र खट्ने कलाकार र टिमका सदस्यहरुको परिश्रमले एनइसीसीको देउसी–भैलो हरेक वर्ष थप प्रभावकारी हुन सकेको छ । समुदायका सदस्यहरु र दाताहरुको उत्तिकै उत्साहजनक साथ र सहयोगले हामीमा उर्जा थपेको छ ।’ संस्थाका अध्यक्ष खिलेन्द्र मणी न्यौपानेले बताए ।

उपसभापति सरोज प्रजापतिका अनुसार यसै वर्षको सेप्टेम्बर ३० मा आयोजना गरिएको ‘फण्ड रेजिङ्ग डिनर’ बाट मन्दिर निर्माणका लागि दुइ लाख अमेरिकी डलर उठाउन सफल भएको थियो । ‘एक महिना अगाडि मात्र यहि समुदायका दाताहरुले त्यत्रो रकम सहयोग गरे । फेरि लगत्तै एक महिना पछिको यस कार्यक्रममा अर्को एकलाख भन्दा बढि रकम दान सहयोग गरेका थिए ।

‘हामीसंग द्यौसी–भैलीको लागि भनेर अभ्यास गर्ने र चुस्त टोली बनाउने समय र परिस्थिति नभए पनि विगत पाँच वर्ष देखि साथ दिइरहनु भएका संस्था तथा समुदायका सदस्यहरु हुनुहुन्छ । यस वर्ष विशेष गरि वाध्य वादन र गायनमा अनिल तिमल्सेना, अर्जुन घिमिरे र कमला थापाले विशेष सहयोग गर्नु भयो । हामी वहाँहरु प्रति विशेष आभारी छौँ । साथै कार्यक्रममा समुदायका सदस्यहरुको उपस्थिति बढ्दै गइरहेको समेत पाएका छौँ । आउंदा वर्षहरुमा हामी अझ राम्रो गर्ने कोशिस गर्नेछौँ ।’ एनइसीसीका महासचिव नेत्र घिसिङ्गले कलाकारहरुका बारेमा बताए ।

सोहि कुरामा थप प्रष्ट पार्दै संयोजक तिमल्सिना बताउछन् – ‘ हो, हामीसंग व्यवसायिक कलाकारहरु छैनन् तर नेपाली परम्परा र संस्कृति झल्काउने द्यौसी–भैली गीत गाउन, नेपाली बाजा बजाउन र नेपाली शैलीमा नाच्न संस्थाका सदस्यहरु वर्षमा करिब छ सात दिन लगातार विहान ९ बजे देखि राती ११ बजेसम्म खटीइरहनु भएको छ । हरेक घरमा पुग्दा साना नानीबाबुहरु देखि सबै उमेरका आमा, बुबा, दिदी बहिनी सबै सहभागी हुनुहुन्छ, संगै गाउने, नाच्ने र रमाउने गर्नुहुन्छ अनि आफूले सकेको दान गर्नुहुन्छ । सबैले नेपालमा हुंदाको बखत तिहारको रमाइलोलाई स्मरण गर्नुहुन्छ । त्यसैले एनइसीसी र समुदाय दुवैका लागि देउसी –भैली एक विशेष कार्यक्रम हुन सकेको छ ।’

संस्थाका सदस्य तथा कलाकारहरु मात्र नभइ द्यौसी–भैली कार्यक्रमलाई घरमा बोलाउने आयोजकहरु पनि यस कार्यक्रमबाट खुशि देखिन्छन् । एनइसीसीको यस कार्यक्रमलाई आफ्नो घरमा सञ्चालन गर्न बोलाउने डा. शील तथा बन्दिता दहाल भन्छन् ‘ एनइसीसीको देउसी –भैली कार्यक्रमलाई सकेसम्म हामी घरमा बोलाउछौँ र हाम्रा दुइ छोराहरुलाई पनि यसमा सहभागी गराउछौँ । यसले गर्दा उनीहरुमा पनि नेपाली संस्कृति प्रति रुचि बढ्ने हुन्छ भने हामी परिवारका सबै सदस्यहरु पनि कलाकारहरुसंगै गाउने नाच्ने गछौँ । साथमा मन्दिरका गतिविधि र योजनाहरुका बारेमा वहाँहरुले द्यौसी मार्फत नै जानकारी गराउनु हुन्छ । हामीले यो कार्यक्रमलाई समुदाय र मन्दिरको बीचमा सम्वन्ध कायम गर्ने अत्यन्तै प्रभावकारी माध्यमको रुपमा पाएका छौँ ।’

नेपाली समुदायमा विशेष गरि एनआरएनए मार्फत सामाजिक काममा लागेका शुसिल तथा सुनिता रेग्मी द्यौसी–भैली कार्यक्रमलाई आफ्नो घरमा सञ्चालन गर्न पाएकोमा अत्यन्तै खुशि देखिन्थे । ‘हामी मात्र होइन हामीले बोलाएका हाम्रा अन्य आफन्त लगायत प्रत्यक्ष प्रशारण हेरेर बसेका हाम्रा साथीभाइहरु समेत अत्यन्तै खुशि भएका छन् । नेपालबाट भर्खर आउनु भएकी हाम्री बुढी आमाले समेत मन्दिर र कलाकारलाइ आर्शिवाद दिनुभयो । मन्दिरले सञ्चालन गरेको यो द्यौसी–भैली कार्यक्रमले हामीलाई नेपालको तिहार विर्साइ दिएको छ । नेपालै पुगेको अनुभूति दिलायो । मन्दिरलाई धेरै धन्यवाद ।’ रेग्मी दम्पति बताउँछन् ।

हरेक वर्ष द्यौसी–भैली कार्यक्रमलाई आफ्नो कार्यक्रममा स्थान दिई मन्दिरका लागि सहयोग उपलब्ध गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एनपीपीएका अध्यक्ष राजु जोशिका अनुसार ‘विदेशमा छौँ, सबै जातजाती र भाषाभाषी मिलेर आफ्नो संस्कार र संस्कृतिलाई बचाउँदै सवै नेपाली एउटै हो भन्ने सन्देश प्रदान गर्न र डिसी क्षेत्रका हामी सबैको एउटै साझा मन्दिर बनाउन सबैले सहयोग गर्नुपर्छ भनेर एनपीपीएले द्यौसी–भैलीलाई सन् २०१५ देखि निमन्त्रणा गर्ने गरिएको हो । यस वर्ष हामीले आयोजना गरेको कार्यक्रमबाट धेरै सहयोग संकलन हुन सकेकोमा हामी खुशि छौँ ।’

एनइसीसीले यस वर्षको द्यौसी–भैली समापन कार्यक्रम नोभेम्बर १८ का दिन मेरिलैण्डको फ्रेडेरिक स्थित नविन तथा सरला नेपालको घरमा गरेको थियो । करिब ३ घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रममा कलाकारहरुलाई माला तथा खादा ओढाई धन्यवाद र सम्मान अर्पण गरिएको थियो भने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

मन्दिरका पण्डित श्रीधर ज्ञवालीले मन्दिरका अध्यक्ष खिलेन्द्र मणी न्यौपानेलाई खादा ओढाई सम्मान गरेका थिए भने अध्यक्ष खिलेन्द्र न्यौपाने, उपसभापति सरोज प्रजापति, रामचन्द्र खरेल, महासचिव नेत्र घिसिङ्ग तथा केसी डान्स सेन्टरका नविन के।सी।ले कलाकारहरु तथा दातारुलाई सम्मान गरेका थिए ।

८० भन्दा बढि व्यक्तिहरुको उपस्थितिमा सम्पन्न द्यौसी–भैली समापन कार्यक्रमका आयोजक नविन तथा सरला नेपालले भने ‘हामी मन्दिरको यो कार्यक्रमबाट अत्यन्तै खुशि छौँ । विदेशमा नेपालीपन लाई हाम्रो घरआगनमा पु¥याउने मन्दिर प्रति हामी आभारी छौँ । हामीलाई खुशि यस अर्थमा पनि लागेको छ कि मन्दिर निर्माणमा हाम्रो घरमा खेलिएको देउसी–भैली कार्यक्रमबाट सबैको सहयोगले निकै राम्रो रकम संकलन हुन सकेको छ । सबैले यसै गरि साथ र सहयोग गरेमा हामीले सोचेको मन्दिर चांडै नै निर्माण हुन सक्छ ।’

अन्त्यमा संस्थाका अध्यक्ष न्यौपानेले यस वर्षको द्यौसी–भैली कार्यक्रमबाट एक लाख डलर सहयोग उठाउने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढि नै उठाउन सफल भएको र यसरी कार्यक्रमलाई भव्य सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण कलाकार तथा दाता र सहयोगीहरुलाई धन्यवाद दिंदै आउँदो वर्षका लागि १५ भन्दा बढी व्यक्तिहरुले आफ्नो घरमा द्यौसी–भैली खेल्न निमन्त्रणा गरिसकेको बताए भने यस वर्ष उपस्थित हुन नसक्नु भएका व्यक्तिहरुले दान सहयोग मन्दिरमा पठाउन सक्ने बताए ।

डिसी नेपालले यस वर्षको २२ वटा स्थामा खेलिएको द्यौसी–भैली कार्यक्रमलाई प्रत्यक्ष प्रशारण गरेको थियो भने डिसी क्षेत्रका साथमा अमेरिकाका अन्य राज्यहरु तथा विदेशबाट समेत दान सहयोग प्राप्त भएको थियो । समापन कार्यक्रममा जानकारी गराइए अनुसार शान्ति न्यौपानेको पहलमा यस वर्ष मात्र डिसी महानगर क्षेत्र बाहिरबाट १२००० डलर भन्दा बढि सहयोग प्राप्त भएको थियो । थप विशेषताका रुपमा आठ वर्षकी सानी नानी कृपा सिटौलाले भगवान गौतम बुद्ध र नेपालका दृश्यहरुको चित्र कोरेर साथीहरुलाई बेच्ने र त्यसबाट आउने पैसा जम्मा गरेर दिनको २५ सेन्टका दरले मन्दिरलाई दान गर्दै ट्रष्टि ९जसका लागि ५००० डलर दान गर्नुपर्ने प्रावधान छ० बन्ने घोषणा गरेकी छन् भने १६ वर्षका विवेक न्यौपानेले दिनको ५० सेन्टका दरले एक वर्षको १८५ डलर मन्दिरलाई दान सहयोग गरेका छन् । यसैगरि ८१ वर्षकी सावित्री क्षेत्रीे समेतले डलर अ डे सहित संस्थाको ट्रष्टि बन्ने घोषणा गरेकी थिइन् ।

अमेरिकामा आएका नेपालीहरुले सबै भन्दा पहिला स्थापना गरेको करिब ७५ रोपनी जग्गा सहितको डिसी महानगर क्षेत्रमा आवस्थित यस मन्दिरले हरेक वर्ष आयोजना गर्ने द्यौसी–भैली कार्यक्रमले यस क्षेत्रमा नेपाली संस्कृतिलाई पुर्नजीवित गर्न र समुदाय तथा मन्दिरको बीचमा सम्वन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको समुदायका सदस्यहरुले बताएका छन् ।