खेलकुद

साबिकको विजेता रियल नकआउट चरणमा

काठमाडौँ ।  साबिकको विजेता तथा स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इटालियन क्लब रोमालाई २ – ० गोल अन्तरले पराजित गर्दै रियलले नकआउट चरणको यात्रा तय गरेको हो ।

रोमाको मैदानमा भएको खेलमा रियलको लागि ग्यारेथ बेल र लुकास भास्क्वेजले एक एक गोल गरे । घरेलु टोलीविरुद्ध पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको रियलले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो ।

दोस्रो हाफको सुरुवात ४७ औं मिनेटमा बेलले गोल गर्दै रियललाई १ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ५९ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई २ – ० को जित दिलाए ।

जितसंगै समूह ‘जी’ को रियलले ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रहदै अर्को चरणको यात्रा तय गर्न सफल भयो । रियलले पछिल्लो १५ सिजनको हरेक सिजन नकआउट चरणमा स्थान बनाउदै आएका छन् ।

पराजित रोमा पनि नकआउट चरणमा स्थान बनाउन सफल भयो । यसै समूहको अर्को खेलमा भिक्टोरिया प्लेजेनले सीएसकेए मस्कोलाई २ – १ ले पराजित गरेपछि रोमा दोस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको हो । रोमाको ९ अंक रहेको छ ।

समान ४/४ अंक जोडेको मस्को र प्लेजेन भने प्रतियोगिताबाट बाहिरिएका छन् ।