समाचार

प्रधानन्यायाधीशका लागि दुई जनाको नाम सिफरिस, ‘अस्वीकृत’ जोशी पहिलो नम्बरमा

काठमाडौँ । सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि न्याय परिषदको सचिवालयले २ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

योग्यता पुगेका दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बताए । न्याय परिषद सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको जानकारी दिएको छ । जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका व्यक्ति हुन् ।

न्याय परिषद सचिवालयले भावी प्रधानन्यायाधीशका लागि जोशीको नाम पहिलो नम्बरमा राखेको छ । यद्यपि जोशीको नाममा कैफियतसहित प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको परिषद स्रोतले जनाएको छ । पत्रको कैफियतमा भनिएको छ– निज दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीश पदमा अश्वीकृत भई हाल सर्वोच्च अदालतको न्यायाधीशमा कार्यरत रहेको ।

प्रधानन्यायाधीशको पद रिक्त हुनभन्दा एक महिना अघि नै प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संबैधानिक व्यवस्था बमोजिम न्यायाधीशहरूको नाम पठाइएको हो । हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र १७ पुसमा उमेर हदका कारण सेवा निवृत्त हुँदैछन् ।

अवधि सकिनुभन्दा एक महिना अघि प्रधानन्यायाधीश विदामा बस्ने र कायम मुकायम प्रधानन्यायधीशले एक महिनासम्म सर्वोच्च अदालतको नेतृत्व गर्ने प्रचलन रहेको छ ।

संवैधानिक परिषदको बैठक यसैसाता बसेर चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी रहेको स्रोतले जनाएको छ । जोशी यसअघि संसदीय सुनुवाई विशेष समितिको निर्देशनबमोजिम संवैधानिक परिषदबाट अश्वीकृत भइसकेकाले उनको नाममा यसपटक भने थप छलफल नहुने स्रोतको दाबी रहेको छ ।