लुम्बिनी

स्थानीय निकायले अधिकार प्रयोग गरी कामलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छः मुख्यमन्त्री

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकासलाई समृद्धिसँग जोड्न आग्रह गरेका छन् । घोराही उपमहानगरपालिका–७ मा नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशमा समृद्धि ल्याउन आफ्नो गाउँठाउँमा हुने विकासका कामलाई पनि समृद्धिसँग जोड्नुपर्ने बताए ।

उनले वर्तमान सरकार आएसँगै सडक, पुलपुलेसा बन्ने र सिँचाइको पूर्वाधार तयार हुने काम तीव्र गतिमा भैरहेको छ भने । मुख्यमन्त्री पोखरेलले जनतालाई उत्पादनमुखी काममा लाग्न आग्रह गर्दै स्थानीय निकायले संविधानले दिएको अधिकार प्रयोग गरी जनताको कामलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूले नगरको विकासमा काम गरिरहेको र यहाँको विकासको लागि सबै जनताको साथ र सहयोगसमेत आवश्यक रहेको बताए ।

वडाध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, भागवत विश्वासीलगायतका नेताहरुको पनि सहभागिता रहेको थियो । नवनिर्मित कार्यालय भवन रु ५८ लाखको लागतमा निर्माण गरिएको वडा कार्यालयले जनाएको छ ।