कर्णाली प्रदेश

कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न : मुख्यमन्त्री शाही

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकासमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्लासभाको सोमबार उद्घाटन गर्दै उनले यो प्रदेशलाई गरीबीको उपमा दिए पनि यहाँको विकासका लागि आर्थिक स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन्। “कर्णालीको योजनाबद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको छ”, मुख्यमन्त्री शाहीले भने, “अब परिणाम देखिनेगरी काम गर्छौं ।”

प्रदेश योजना आयोगले प्रदेशको बहुआयामिक विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको बताउँदै उनले तीनवटै तहको सहकार्यमा मात्र कर्णालीको विकास अभियान अगाडि बढ्ने धारणा व्यक्त गरेका थिए। मुख्यमन्त्री शाहीले भने, “विकास दाताले नभई जनताले गर्छन् बरु दाता निकायको सहयोगी भूमिका हुन्छ।”

विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्दै लैजानुपर्नेमा जोड दिदैं कृषि, उद्योग, पर्यटन, जडीबुटीलगायत क्षेत्रमा उत्पादनमूलक योजना निर्माण गरेर काममा लाग्न आग्रह गरे। मुख्यमन्त्री शाहीले स्रोतको सदुपयोग र दिगो विकासमा ध्यान नदिए वा जनतालाई उत्पादनमूलक काममा नजोडेसम्म समृद्धि प्राप्त नहुने बताउँदै “जननिर्वाचित तपाईं हामी सबै जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्दछ”, भने।

नकारात्मक सोच र राजारजौटाको जस्तो शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने उल्लेख गर्दै उनले जनप्रतिनिधिहरू जनताको सेवक बनेर काम गर्नुपर्नेमा जोड दिए। सभामा स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावका कारण आफूहरूलाई काम गर्न गाह्रो भएको गुनासो गरेका थिए।

कर्मचारी आपूर्तिमा संघीय सरकारले उदासीनता देखाएको भन्दै उनीहरूले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गरे।

कार्यक्रममा राजनीतिक दलका नेता तथा अधिकारकर्मीले कालीकोटको विकास र समृद्धिका लागि सुनथराली विमानस्थल सञ्चालन गर्नुपर्ने, कर्णाली राजमार्गको स्तरोन्नति, गुणस्तरीय एवं रोजगारमूलक शिक्षाको व्यवस्था, साना तथा मझौला उद्योगको विकास, पर्यटन र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

यसरी धारणा राख्नेमा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्यद्वय जीवन बुढा, नरपति सुनार, प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही र सोशीला शाहीलगायत रहेका छन्।