अन्तर्राष्ट्रिय

रुसले युक्रेनका जहाज कब्जामा लियो, रुसी कदमको आलोचना

किभ । रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाजहरु नियन्त्रणमा लिएको छ । रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ । युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ । रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु अनधिकृत रुपमा प्रवेश गरेको जनाएको छ ।

दुईवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेटहुँदै आइतबार अगाडि बढेपछि यो सङ्कटको पटाक्षेप भएको थियो । कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गरिआएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ । अजोभ सागर दुवै देशको साझा हो । युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ ।

युक्रेनले कर्च स्ट्रेटको साँगुरो जलमार्गमा रुसले ट्याँकर तेस्र्याएर बाटो अवरुद्ध गरेको जनाएको छ । यो क्षेत्रमा रुसी सैनिक विमानहरुले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ । युक्रेनमा उत्पन्न तनावका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक सोमबार बस्न लागेको राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले बताए । यो बैठकका लागि रुस र युक्रेन दुवैले अनुरोध गरेको कुटनीतिक स्रोतहरुले बताएका छन् ।

यहीबीच, युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले मुलुकमा अरु ६० दिन सैनिक कानुन लगाउने वा नलगाउने भन्ने विषयमा छलफल गरी मतदान गर्न संसद समक्ष आग्रह गरेका छन् । मन्त्रिपरिषदको सैनिक परिषदले सैनिक कानुनको आवश्यकता रहेको निर्णय गरिसकेको छ । राष्ट्रपति पोरोशेन्कोले रुसीहरुको आक्रमण भूलवश नभएको बताउँदै यो घटना नियतवश भएको, र युक्रेनलाई स्थायित्व खल्बल्याउने उद्देश्यबाट प्रेरित रहेको चर्चा गरे ।

युक्रेनले रुसी आक्रमणबाट छ जना सैनिक घाइते भएको, र तीमध्ये दुईजना गम्भीर रहेको बताएको छ । तर रुसको एफएसबीले तीनजना मात्र सामान्य घाइते भएको जनाएको छ । उनीहरुको उपचार गरिएको छ । किभमा रुसी राजदूतावास बाहिर उक्त आक्रमणको विरुद्धमा आइतबार राति प्रदर्शन गरिएको छ । कीभका पश्चिमी गठबन्धन राष्ट्रहरुले रुसको पछिल्लो आक्रमणप्रति आपत्ति जनाएका छन् । युरोपेली युनियनले एक वक्तव्य जारी गर्दै कर्च स्ट्रेटको बाटो पुनस्र्थापित गर्न रुससँग आग्रह गरेको छ । वक्तव्यमा परिस्थितिलाई अरु भड्किन नदिने दुवै पक्षबाट सम्यम अपनाउन भनिएको छ ।

नेटोले पनि परिस्थितिलाई जतिसक्दो चाँडो साम्य बनाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय कानुन बमोजिम अजोभ सागरमा युक्रेनी बन्दरगाहसम्मको सहज पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ । रुसले क्राइमिया प्रायःद्वीपलाई सन् २०१४ मा रुसमा विलय गरेसँगै क्राइमियाको जलक्षेत्रमा आफ्नो प्रभूत्व रहेको दाबी गरिआएको छन् ।