बाग्मती

पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

काठमाडौँ । जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् । सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

कोषले यो अभियानअन्तर्गत यसअघि नै २०० बिरुवा रोपिएको जनाएको छ । एक वर्षमा पाँच हजार वृक्षरोपण सम्पन्न गर्ने कोषको लक्ष्य छ । कार्यक्रममा कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार वृक्षरोपण अभियान शुरु गरिएको बताए। पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटक घुमाई अवधि लम्ब्याउन यहाँको वातावरणमा सुधार गर्न लागिएको उनले बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङले सामाजिक उत्तरदायित्वको कामअन्तर्गत पशुपति क्षेत्रमा बिरुवा रोपिएको बताए । पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किरातेश्वरलगायतका खाली स्थानमा बिरुवा रोपिने जनाइएको छ ।