कृषि

आम्दानीको स्रोत तरकारी खेती

गलेश्वर । पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तीनै फोहोटा र कान्लाकान्लीलाई सम्याएर बनाएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरेको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन । परिश्रम गर्ने हो र सीप हुने हो भने एउटै गराबाट पनि पर्याप्त आम्दानी गर्न सकिदो रहेछ भन्ने कुराको उदाहरण बनेका छन् म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका हरिलाल घिमिरे ।

पछिल्लो समय ४८ वर्षीय घिमिरेको जीवन तरकारी खेतीका कारण फेरिएको छ । तीस वर्षअघि गरीबीका कारण गाउँमा बस्नसक्ने अवस्था थिएन । विदेश जानका लागि रु ६० हजार ऋण नपाएका घिमिरले अहिले तरकारी खेतीबाटै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । दश वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मिहेनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । उनले एउटै गरामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

“वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी हुन्छ,” घिमिरेले भने । गत वर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तोमा बिक्री गर्नुपरेको उनले गुनासो गरे । “बिक्री गर्न बजारको समस्या छ,” उनले भने । घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरी समेत जोडे्का छन् ।