खेलकुद

तेक्वान्दोको दुवै सङ्घ विघटनको तयारी शुरु

काठमाडौँ । लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ ।परिषद्ले अस्तित्वमा रहेका नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ (नेपाल) को विघटन प्रक्रिया अगाडि बढाएको हो । खेलाडी छनोटदेखि अन्तर्राष्ट्रिय सहभागितासम्म दुई सङ्घबीच विवाद आएपछि सङ्घलाई कात्तिक २७ गते परिषद्ले विवाद सल्टाउन सातदिने पत्र काटेको थियो । पत्रमा राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुवै सङ्घलाई मिलेर जान अल्टिमेटम दिएको उल्लेख छ । राखेपले दुवै सङ्घलाई लेखेको पत्रमा दुवै सङ्घ मिल्न नसकेको अवस्थामा माघमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूदको जिल्ला, प्रदेश र केन्द्रीय छनोट प्रभावित हुने उल्लेख छ ।

आठौँ राष्ट्रिय खेलकूद आगामी माघ २२ गतेदेखि आयोजना हुने तय भएको छ । राखेपको ११०औँ बोर्ड बैठकले दुई तेक्वान्दो सङ्घलाई आपसी छलफल गरी विवाद समाधान गराउन निर्णय भएको र सो निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको थियो । अहिले विश्व तेक्वान्दो महासङ्घले सम्बन्धन दिएको प्रकाश शम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो सङ्घ र शिव कोइराला नेतृत्वको नेपाल तेक्वान्दो युनियन अस्तित्वमा छन् । दुवै सङ्घ अहिलेसम्म सकारात्मक नदेखिँदा तेक्वान्दोको विवाद सधैँका लागि समाप्त पार्न विघटन नै गर्नुपर्ने अवस्था आएको परिषद् स्रोतले जनाएको छ ।

परिषद्का सदस्य सचिव केशवकुमार विष्टले दुवै सङ्घका पदाधिकारीलाई आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दै भने, “उहाँहरूबीच जुँगाको लडाइँ चलिरहँदा परिषद् चुप लागेर बस्दैन । हामी कठोर निर्णय लिन बाध्य हुन्छौँ । अझै पनि दुई सङ्घका पदाधिकारीबीच छलफल होस् भन्ने चाहन्छौँ ।” सहमतीका लागि दुई महीना समय दिन सकिने उनको भनाइ थियो । “त्यसपछि पनि उहाँहरूले केही निकास दिनुभएन भने हामी दुवै सङ्घ विघटन गछौँ, परिषद्लाई विघटनको अधिकार छ,” राखेप सदस्य सचिव विष्टले भने ।

कोइराला अध्यक्ष रहेको सङ्घले विवाद सल्टाउन पाँच सदस्यीय वार्ता टोली गठन गर्दा राणा पक्षले भने परिषद्को पत्रका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन । नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेलले राजनीतिक भ्रातृसंस्थासँग एकता नहुने बताए । “विसं २०३८ देखि खेल र खेलाडीको विकासमा लागेको हामीलाई राजनीतिकरुपमा अर्को संस्था जन्माइ विवादमा ल्याउन खोजियो, विघटन गरे अदालत जान्छौँ”, उनले भने । राखेपको पत्रपछि दुई चरणमा युनियनसँग वार्ता गरे पनि समाधान ननिस्केको उनको भनाइ छ ।

नेपाल तेक्वान्दो युनियनका अध्यक्ष कोइरालाले दुई सङ्घ हुुनु कुनै नौलो कुरा नभएको बताउँछन् । सङ्घको एकाधिकार तोड्न आफूहरूले युनियनलाई अस्तित्वमा ल्याएको उनी बताउँछन् । “राखेपले पत्र पठाएको छ, राखेपकै पत्रको सम्मान गर्दै हामीले मेरै नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेका छौँ, राखेपको निर्देशन स्वीकार्नु विकल्प छैन”, उनले भने । एशियाली खेलकूद प्रतियोगितामा ऐतिहासिक पहिलो रजत, दक्षिण एशियाली खेलकूदमा सर्वाधिक स्वर्ण जित्ने तथा छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागिता जनाउने खेल तेक्वान्दो हो । पछिल्लो समय दुई समानान्तर सङ्घ रहँदा यो विवादित बनिरहेको छ ।