राजनीति

काङ्ग्रेस कमजोर हुदाँ सिङ्गो राष्ट्र र जनताले मूल्य चुकाउनुपर्छः गगन थापा

चितवन । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताए ।

चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उनले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो । उनले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले भने, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।”

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह लगायतले बोलेका थिए । सो अवसरमा नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवं पार्षद्हरुलाई सम्मान गरिएको थियो ।