प्रदेश 1

मादक पदार्थ सेवनले कोलाहल स्थान शान्त र सभ्य बन्दै

बनियानी । मादक पदार्थ सेवनका कारण अशान्त र कोलाहल हुने गरेको झापा बिर्तामोड–६ स्थित स्यालडाँगी र घण्टीबारी क्षेत्र यतिबेला शान्त र सभ्य बन्दै गएको छ । गाउँघरमा विकृति र अवाञ्छित गतिविधि बढेसँगै स्थानीयबासीले टोल गस्ती गर्न थालेपछि गाउँ शान्त र सभ्य बन्दै गएको हो । रातको समयमा जाँडरक्सी, लागुपदार्थ सेवन गरेर झैझगडा, होहल्ला गर्ने, पसल तथा सटरमा ढुङ्गा हान्ने, चोरी लगायतका अवाञ्छित गतिविधि बढेपछि राति टोल गस्ती गर्न थालिएको टोल गस्तीका संयोजक नवराज मेचेले बताए ।

‘गाउँटोलमा विकृति बढेपछि एक साता अघिदेखि गस्ती शुरु गरेका छौँ’, उनले भने, ‘गस्ती शुरु गरेयता गाउँमा शान्ति छ ।’ गस्ती टोली ५० सदस्यीय रहेको छ । १०र१० जनाको पाँच समूह बनाएर राति ८ बजेदेखि ११ बजेम्म गस्ती गर्ने गरिएको अध्यक्ष मेचेले बताए । गस्ती शुरु गरेयता चार जनालाई कारबाही समेत गरिएको अध्यक्ष मेचेले उल्लेख गरे । इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा मादक पदार्थ सेवन गर्ने तीन जनालाई पक्राउ गरेर पुनः त्यस्तो नगर्ने प्रतिबद्धता गराएर छाडिएको र एक जनामाथि सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।

युवा कुलतमा फस्दै गएको र रातिको समयमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेर गाउँ अशान्त बन्न थालेपछि रात्रि गस्ती गर्न थालिएको वडा नं। ६ का वडा सदस्य एन्विन्द्र खत्रीले बताए । गाउँमा विकृति बढेपछि गस्ती टोली गठन गर्ने प्रस्ताव आफूले अघि सारेको बताउँदै उनले भने, ‘टोल गस्ती शुरु गरेयता गाउँ निक्कै शान्त भएको छ ।’

टोल गस्ती शुरु गरिएसँगै बिर्तामोड वडा नं. ६ को वडा कार्यालयले यसका लागि रू ५० हजार बजेट समेत उपलब्ध गराएको छ । गस्तीका लागि आवश्यक सामग्री खरीद गर्न बजेट उपलब्ध गराइएको वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताए।
‘सडक, पूल लगायतका पूर्वाधार निर्माण गरेर मात्र विकास हुँदैन’, उनले भने, ‘विकृतिरहित समाज पनि निर्माण हुनुपर्छ, नराम्रो मान्छेलाई राम्रो बनाउन आवश्यक छ ।’ यस्ता कार्यले स्यालडाँगी र घण्टीबारीलाई नमूना टोल बनाउन सहयोग पुग्ने उनले बताए । उनले आवश्यकतानुसार थप बजेट उपलब्ध गराउनेसमेत जनाए।

वडा कार्यालयले गस्तीमा सहभागीका लागि ट्र्याक सुट उपलब्ध गराउने भएको संयोजक मेचेले बताए । वडा कार्यालयले उपलब्ध गराएको बजेटबाट रू २० हजार बराबरको आवश्यक सामग्री खरीद गरिएको उनले बताए । गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयबासी राजु दिवालीले चार थान वाकीटकी समेत उपलब्ध गराएका छन् । यो क्षेत्र शिक्षा, रोजगार, स्वास्थ्य लगायतका दृष्टिकोणले पछि परेकाले यहाँका युवा कुलतमा फँसेको स्थानीयबासी कृष्ण थापाले बताए । स्यालडाँगी–घण्टीबारीमा ७८३ घरपरिवारको बसोबास रहेको छ ।