समाचार

निर्मलाका बुवा यज्ञराज पन्तलाई अस्पताल भर्ना गरियो

काठमाण्डौ । अनसनमा बसेका स्वर्गिय निर्मलाका बुवा यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका हुन्।

उनको आपत्कालीन कक्षको बेड नम्बर २९ मा राखेर उपचार सुरु गरिएको त्रिवि अस्पतालले बताएको छ। हाल उनलाई आपत्कालीन कक्षका चिकित्सकहरूले परीक्षण गरिरहेको बताइएको छ। उनीमा देखिएको स्वास्थ्य समस्याका बारेमा रगत परीक्षणको नजिजा आएपछि मात्रै थाहा हुने चिकित्सहरूले बताएका छन्।

निर्मलाका बाबुआमासँगै उनका दुई काकासमेत काठमाडौं आएका छन्। यज्ञराजको स्वास्थ्यको जाँच गर्न एक स्वास्थ्यकर्मी पनि सगैं आएको दुर्गादेवीले बताइन्। निर्मलाका लागि न्याय माग्दै धर्नामा बसेका यज्ञराजले जथाभाबी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरूलाई जथाभाबी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि उपचारको लागि काठमाडौं ल्याइएको हो। बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मीसमेत पठाएको थियो ।

निर्मलाका आफन्त विगत दुई सातादेखि जिल्ला प्रशासन कार्यालयबाहिर २४ घण्टे अनसनमा थिए। अहिले पनि कञ्चनपुरमा धर्ना जारी छ। निर्मलाकी कान्छी आमा धर्ना बसिरहेको संर्घष समितिकी संयोजक मीना भण्डारीले जानकारी दिइन्।