पु.समाचार

राष्ट्रपतिका लागि १८ करोडको कार किन्नु सामन्य: देवेन्द्र पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताए । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा नेता पौडेलले राष्ट्रपतिका लागि सवारी साधन किन्ने विषय सामन्य भएको बताए । उनले सरकारको कामकाजका विषयमा आवाज उठाउन विपक्षी दललाई आग्रह गरे । “जनताको भावनाअनुरुप काम भएको छ कि छैन, सरकार के गरेर बसिरहेको छ, त्यस विषयमा खबरदारी गर्नुस्, त्यो उचित हुनेछ,” नेता पौडेलले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए। नेपालको गौरवका निम्ति र सुरक्षाको हिसाबले गाडीको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । सरकारले नौ महीनामा केही गर्न नसकेको र सुरक्षाको विषयमा चुकेको उनको आरोप थियो । सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले राष्ट्रपतिका लागि महंगो गाडी खरिद गर्न आवश्यक नभएको आफूहरुले राय दिएको बताए । उनले भने, “समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि पनि महंगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महंगो गाडी खरिद गर्नु हुँदैन भन्ने नै हो ।”