राजनीति

‘दलित नेतृत्व: सङ्घर्ष र सफलता’ लोकार्पण

काठमाडौँ । दलित नेताहरुको संघर्ष र सफलता समेटिएको ‘दलित नेतृत्वः सङ्घर्ष र सफलता’ नामक पुस्तक सार्वजनिक गरिएको छ । दलित महिला केन्द्र नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले सो पुस्तकको विमोचन गरे । परशुराम रम्तेल र गणेश विकेले लेख्नुभएको सो पुस्तकमा १३ दलित आन्दोलनका अगुवा तथा नेताको संघर्ष र सफलताबारे चर्चा गरिएको छ । पुस्तकको लेखक राजेन्द्र महर्जनले सम्पादन गरेका हुन् ।

पुस्तकमा उमादेवी वादी, कलावती पासवान, खड्कबहादुर बस्याल, छविलाल विश्वकर्मा, टेकु नेपाली, तिलक परियार, पद्यलाल विश्वकर्मा, मिठाइदेवी विश्वकर्मा, मानबहादुर विश्वकर्मा, रामप्रित पासवान, विश्वभक्त दुलाल, सन्तबहादुर नेपाली र सन्तोषी विश्वकर्माको संघर्ष, नेतृत्व र व्यक्तित्व समेटिएको छ । कार्यक्रममा सभामुख महराले दलित समुदायबारे अहिलेसम्म प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायका अगुवाहरु एकीकृत रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए । पुस्तक देशकै लागि ऐतिहासिक दस्तावेज भएको हुँदा त्यसबाट दलित समुदायका नयाँ नेतृत्वले सिक्नुपर्ने कुरा धेरै रहेको धारणा राखे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तिलक परियार, नेत्रीहरु मिठाइदेवी विश्वकर्मा र टेकु नेपाली लगायतले एकीकृत दलित आन्दोलनमा जोड दिए । केन्द्रका अध्यक्ष गौरा नेपालीले पुस्तकमा समेटिएका सङ्घर्षका गाथा कुनै व्यक्ति–विशेषको कथामात्र नभई सिङ्गो दलित आन्दोलनको इतिहास हो भने ।