पु.समाचार

राष्ट्रपतिले किन्न लागेको कारबारे रक्षामन्त्रीले भनेः पत्रकारले लेख्दैमा के के न हुन्छ भनेर डराउनुहुदैँन

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्नुहुँदै उहाँले सार्क र बिम्स्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरीद गर्न लागेको साधनका बारेमा नकारात्मक टिप्पणी गरेको बताए ।

“महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्न २० वर्षअघि नै ७०० रोपनी जग्गा खरीद भइसकेको थियो, त्यसलाई सञ्चारमाध्यमले अहिले नै भए जसरी प्रचारप्रसार गरेका छन्”, उनले भने।

कलेजले १५ वर्षअघिदेखि शुरु गरेको पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री पोखरेलले जनाए । वार्षिक एक लाख भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेशिने गरेकाले सरकारले प्राविधिक र रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्न लागेको जानकारी पनि उनले गराए ।

राष्ट्रियसभाकी सांसद कोमल ओलीले सांसद, मन्त्री, कर्मचारीलगायत जोसुकैले गल्ती गरे पनि पत्रकारिता जगत्ले खबरदारी गर्नुपर्ने बताए । “सञ्चारजगत्ले सरकारका कमीकमजोरी लेख्ने तर उद्योगपतिले कर नतिरेको समाचार विज्ञापनको स्रोत बन्द हुन्छ भन्ने भयले नलेख्ने गर्नुहुँदैन, पत्रकारले समाचार लेख्दैमा के–के न हुन्छ भन्ने भयबाट कोही पनि डराउनुहुँदैन”, कलेजमा पत्रकारितामा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत उनले भने ।

राजनीति गर्नेले स्पष्ट र इमान्दार हुनुपर्ने सांसद ओलीको भनाइ थियो । कलेजकी संस्थापक क्याम्पस प्रमुख डा मञ्जु मिश्रले सन् २००१ जनवरीदेखि अध्यापन शुरु भएको कलेजलाई आमसञ्चार विश्वविद्यालयका रुपमा विकास गर्ने पूर्वाधार तयार पारेको बताउनुभयो ।

निजी क्षेत्रलाई समेत विश्वविद्यालय खोल्ने गरी नीति निर्माण गर्न उनले माग गरे । सात रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा छ तल्ला र ३४ कोठा छन् । कलेजका लागि चीन र नर्वेले पत्रकारितालाई उपयोगी हुने उपकरण उपलब्ध गराएको जनाइएको छ ।