अन्तर्राष्ट्रिय

डुङ्गा दुर्घटनामा २२ जनाको ज्यान गयो, हराईरहेका कयौको विवरण आउन बाँकी

काम्पाला । युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ, युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले भने ।

डुङ्गा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुङ्गामा झण्डै ९० जना यात्रु रहेका थिए ।

राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुङ्गा सफारीका क्रममा यो दुर्घटना भएको हो । डुङ्गामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरेपनि आधिकारिक पूर्ण विवरणहरु भने अझै आइनसकेको बताउनुभयो ।

युगाण्डामा डुङ्गा दुर्घटना बेलाबेलामा हुने गरेको छ । डुङ्गा दुर्घटनाकै कारण युगाण्डामा बर्सेनि सयौंको ज्यान जाने गरेको छ । -एजेन्सीको सहयोगमा