अन्तर्राष्ट्रिय

युरोपेली नेताहरुले ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गर्ने

ब्रसेल्स । युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य” हुने दाबी गरेका छन् । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि उक्त सम्मेलनमा सहभागी हुनेछन् ।

विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार यस सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमणकालीन व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । तैपनि, यो अन्तिम चरण भने होइन । बेलायती संसद “हाउस अफ कमन्स”ले आगामी मार्च २९, २०१९ अघि उक्त सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ । धेरै सांसदले ब्रेक्जिट सम्झौतालाई स्वीकार गर्न नसकिने चेतावनी दिइरहेका छन् ।

बेलायती बहिर्गमनको विपक्षमा रहेका युरोपेली युनियनका परिषद् अध्यक्ष डोनाल्ड टस्कले सम्मेलनको पूर्वसन्ध्यामा एक वक्तव्य दिँदै बेलायतको बहिर्गमन (ब्रेक्जिट) योजनाबाट कोही पनि खुशी नरहेको बताउनुएको छ । उनले भने, “जोखिम र नोक्सानीलाई न्यूनीकरण गर्ने शर्तहरु राख्न सबैको सहमति छ । त्यसैले युरोपेली नेताहरुले यो सम्झौतामा हस्ताक्षर गरे हुन्छ ।”

प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टी र त्यसको समर्थक नर्दन आइरिस पार्टीले सम्झौताप्रति समर्थन नगर्ने जनाएका छन् । आइतबार प्रधानमन्त्रीले देशलाई सम्बोधन गरी जारी गरेको खुला पत्रमा सन् २०१६ को जनमतसङ्ग्रहले युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई स्वीकृति दिइसकेको बताउँदै प्रस्तावित ब्रेक्जिट सम्झौता मुलुकको सुन्दर भविष्यका लागि भएको बताए । ब्रेक्जिटको निर्णयप्रति बेलायती जनमत निकै विभाजित छ, तर प्रधानमन्त्रीले बहिर्गमनको प्रयासले अन्तिम रुप लिइसकेको र यसबाट बेलायतलाई फाइदा नै पुग्ने बताए ।

जिब्राल्टरको तनाब

शिखर सम्मेलन शुरु हुनुअघि नै टस्क र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग अन्तिम कुराकानी गर्न बेलायती प्रधानमन्त्री ब्रसेल्स पुगेका छन् । तर बेलायत निकट जिब्राल्टरमाथि स्पेनले आपत्ति जनाएपछि सम्मेलन नै बिथोलिने खतरा बढेको थियो । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले स्पेनको सीमामा रहेको जिब्राल्टरका बारेमा युरोपेली युनियनमा मतदान गर्ने विशिष्ट अधिकार पाउनुपर्ने अडान राखेका थिए।

बेलायतले जिब्राल्टरका बारेमा ब्रेक्जिट पछि म्याड्रिडसँग कुराकानी गर्ने बचनबद्धता प्रकट गरेपछि विवाद साम्य भएको थियो । सान्चेजले जिब्राल्टरमाथि दुवै मुलुकको सार्वभौमसत्ता कायम रहने गरी छलफल अगाडि बढेको जिकिर गरेका थिए । तर सान्चेजको यस्तै प्रस्तावमाथि सन् २००२ मा जिब्राल्टरमा भएको जनमतसङ्ग्रहले अस्वीकार गरेको थियो ।

स्पेनी प्रधानमन्त्रीको दाबीप्रति बेलायती प्रधानमन्त्रीले तत्कालै अर्को प्रतिक्रिया दिएका छन्, “जिब्राल्टरको सार्वभौमसत्ताका सम्बन्धमा बेलायतको अडान यथावत छ र त्यसमा कुनै परिवर्तन हुने छैन ।” कानुनी रुपमा स्पेनको अस्वीकृतिले पनि बहिर्गमनलाई कुनै असर पार्ने छैन ।

माछा मार्ने अधिकार

बेलायती सांसदहरुले बेलायती उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीच खुला सीमा यथावत राख्ने ब्रेक्जिट योजनाप्रति चासो व्यक्त गरेका छन् । यो व्यवस्थाले वर्षौंसम्म आयरल्यान्डमा युरोपेली युनियनका नियमहरु लागू हुनेछन् । तर युरोपेली युनियनमा माछा मार्ने अधिकार तथा वाणिज्य नियमहरुका बारेमा गहिरो चासो छ । युनियनको बजार पहुँचका लागि बेलायतले यी विषयमा स्पष्ट गर्नु जरुरी छ । एक कुटनीतिक स्रोतले आइतबार हुने २७ नेताको विशेष सम्मेलनमा यही विषयलाई सबैभन्दा प्रमुखताका साथ उठाइने बताए ।