मनोरञ्जन

बिर्तामाेडपछि नेपथ्य घन्कियाे धरानमा, डाक्टर पढ्दै गरेका हज्जाराै विद्यार्थीले कम्मर मर्काए

धरान । लोकरक ब्याण्ड नेपथ्यले शुक्रबार बेलुकी धरान अाफ्नाे प्रस्तुति दिएको छ ।

स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मुलुक यात्रामा निस्केको नेपथ्यले बिर्तामोड पछि धरानमा दोश्रो कन्सर्ट गरेको हो । स्थानीय रंगशाला भएकाे कन्सर्ट  हेर्न करिब चार हजार दर्शकको उपस्थित भएका थिए । कन्सर्टमा झण्डै हजारभन्दा बढी सहभागिता धरानमा चिकित्सा विज्ञान पढिरहेका छात्र छात्राहरुकै देखिएको थियो ।

‘पहिले जुन स्थानमा लाहुरे भर्तीकेन्द्र थियो अहिले त्यही सम्पत्तिमा विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान खडा भएको छ,’ कन्सर्टमा गाउँदा गाउँदै पनि नेपथ्यका अगुवा अमृत गुरुङले पुरानो र नयाँ धरानको तुलना गर्दै भने, ‘अर्थात् मर्ने र मार्ने कामको योग्यता मापन गर्ने ठाउँ अहिले आम मानिसको जीवन कसरी बचाउने भन्ने स्थानमा परिणत भएको छ जसले सांकेतिक अर्थमा यो ठाउँ कसरी फेरिँदैछ भनेर बुझाउँछ ।’

कन्सर्टको आयोजना नै विपि कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले त्यहीँकै ‘एमसी कफी आवर’सँग मिलेर गरेको हो ।

कन्सर्टकाे प्रारम्भ सँधैजस्तै ‘सा कर्णाली’ म्यूजिक भिडियोबाट गरिएको थियो भने त्यसलाई अर्को म्यूजिक भिडियो ‘सम्झिराख’ बाट निरन्तरता दिइएको थियो ।

कवि तुलसी ‘दिवस’ले बाल्यकालमै लेखेको कवितालाई नेपथ्यले हालै ‘सम्झिराख’ गीतका रुपमा तयार पारेको हो । यतिबेला राष्ट्रले नै मान्ने कवि ‘दिवस’  धनकुटाकै हुन् । उनको सम्मानमै नेपथ्यले छिमेकी धरानका लागि यस गीतको छनौट गरेको थियो ।

कार्यक्रम हेर्न निम्ति मदनपुरस्कार विजेता कवि एवं प्रसिद्ध गीतकार दिनेश अधिकारी समेत उपस्थित भएका थिए ।  हालै शल्यक्रिया मार्फत् कम्मरको जोर्नी नै बदलेका अधिकारीले यो कन्सर्ट लगातार दुइ घन्टासम्म उभिएरै हेरेका थिए।

‘संगीतसँग मनोरञ्जन मात्र नभर्इ सामाजिक दायित्व पनि जोडिएको हुन्छ,’ पूर्व सचिवसमेत रहेका अधिकारीले भने, ‘त्यस्तो दायित्व नेपथ्यले जिम्मेवारीका साथ निर्वाह गर्दै आइरहेको देख्दा खुशी लागेको छ ।’

पछिल्लो पुस्ताका तन्नेरीहरुलाई नेपाली संगीतसँग जोड्न महत्वपूर्ण भूमिका समेत निभाइरहेकोमा उनले नेपथ्यलाई धन्यवाद प्रकट गरे ।

कार्यक्रम ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘जोमसोमे बजारमा’, ‘चरि म¥यो’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अघि बढेको थियो ।

‘तपार्इंहरुले पैसा कमाउने भन्दा पनि मानिसको जीवन बचाउने विद्या आर्जन गरिरहनुभएको छ,’ दर्शकदीर्घामा रहेका भावी चिकित्सक जमातलाई सम्बोधन गर्दै अमृतले भने, ‘मलाई विश्वास छ, पढाइ पूरा गरेपछि यस्तो गहन दायित्वलाई तपाइहरु प्रत्येकले जिम्मेवारीका साथ पुरा गर्नुहुनेछ ।’

कार्यक्रमको अन्त्य सँधैजस्तै नेपाली ध्वजाको स्तुतिमा तन्नेरीहरुलाई उचाल्दै ‘रातो र चन्द्रसूर्य’ मार्फत गरिएको थियो ।