खेलकुद

अन्तिम समयको गोलले बार्सिलोना हारबाट जोगियो

काठमाडौँ । स्पेनिस लिग ला लिगा अन्तर्गत शीर्ष दुई स्थानमा रहेका बार्सिलोना र एट्लेटिको मड्रिडले एक एक गोलको बराबरी खेल्दै अंकबाँडेका छन् ।

शनिबार राति एट्लेटिकोको घरेलु मैदान स्टाडियो वाण्डा मेट्रोपोलिटानोमा भएको खेलमा ओस्मान डेम्बेलेले गरेको अन्तिम समयको गोलले बार्सिलोनाले हार टार्न सफल भयो । खेलको अन्तिम मिनेटमा लियोनल मेस्सीको पासमा डेम्बेलेले बराबरी गोल गरेका थिए ।

यसअघि पहिलो हाफ गोलरहित बराबरी भए पनि खेलको ७७औं मिनेटमा डिएगो कोष्टाको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो ।

६७ हजार घरेलु समर्थकमाझ एट्लेटिकोले अग्रता जोगाउन सकेन र अंक बाँड्यो । बराबरीपछि बार्सिलोना र एट्लेटिको मड्रिड समान १३ खेलबाट २५ र २३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।

बुधबार राति नै भएका अन्य खेलमा भ्यालेन्सियाले रायो भालेकानोलाई ३–० गोलले हराउँदा उसका स्ट्राइकर स्यान्टी मिनाले २ गोल गरेका थिए ।

त्यस्तै हुस्का र लेभान्टेले दुई दुई गोलको बराबरी खेल्दा हिजो साँझ भएको खेलमा महारथी टोली रियल मड्रिड एइबारसँग ३–० गोलले हारेको थियो ।

रियलले एइबारसँग इतिहासमै पहिलो पटक हार ब्यहोरेको हो भने तीन गोल खाएको पनि पहिलो पटक नै हो ।