प्रदेश 2

अाज सप्तरीका स्थानीय तह बन्द

सप्तरी ।  बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ ।

सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा शुक्रबार राती सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका– ४ भूतहीका दिनेश रजक, उहाँकी श्रीमती सुनीलादेवी तथा वडा नं ५ पातोका बेचनीदेवी यादव, ठकनीदेवी यादव र सिकिलदेवी साहको मृत्यु भएको थियो ।

शोकमा आइतबार जिल्ला समन्वय समितिसहित जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको जिससका प्रमुख प्रभाकर यादवले बताए । घटना सुनेलगत्तै रातिदेखि नै घटनास्थल र अस्पताल पुगेर स्थानीय तहका प्रमुख, अध्यक्षसहित राजनीतिक दलका कार्यकर्ता, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, समाजसेवीले आर्थिक तथा भौतिक सहयोग गरेर घाइतेको उद्धार गरेका थिए ।

दुःखद्पूर्ण घटनाले जिल्लामा नै सन्नाटा छाएको र आफूलाई स्तब्ध बनाएको राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलको भनाइ छ । प्रदेशसभा सदस्य रुवि कर्णले मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गर्न विज्ञप्तिमार्फत माग गरेका छन् ।