राजनीति

सभापति देउवाद्वारा डडेलधुरा घाइतेको अवस्थाबारे जानकारी

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत काङ्ग्रेसका पदाधिकारी एवं नेताहरुले डडेल्धुरा दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय एनपी साउँद र वीरबहादुर बलायरलगायत नेता घाइतेको अवस्थाबारे बुझ्न आज काठमाडौँको ट्रमा सेन्टर पुगेका थिए।

सभापति देउवाले उपचारमा संलग्न चिकित्सकसँग घाइतेको अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको नेता बलायरले जानकारी दिए ।

डा. के.आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका– ११ रडुवा खोलामा बिहीबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका थिए।

दुर्घटनाका गम्भीर घाइते छ जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँकी घाइतेको नेपालगञ्जको कोहलपुर र भारतमा उपचार भइरहेको नेता बलायरले जानकारी दिए ।