उर्जा

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी, दुई घाइते

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ । आज दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहमा आगलागी भएको हो । आगलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत् गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत् गृहसमेत बन्द भएको छ । जसका कारण ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ । कूल २१ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्रबाट हाल १६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आगलागीका विषयमा छानबिन भइरहेको जानकारी दिए । दुईवटै विद्युत् गृह बन्द भएपछि नुवाकोट, रसुवा र धादिङको केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । प्रवक्ता अधिकारीले वैकल्पिक व्यवस्था गरेर भए पनि अवरुद्ध रहेको स्थानमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने जानकारी दिए । उनले भने, “ग्राहकको विद्युत् आपूर्तिमा भने यसबाट कुनै असार पर्ने छैन ।” प्राधिकरणले घाइते कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।