कृषि

कृषिमा युवाको चासो बढाउन यसरी पुगे मन्त्री खनाल किसानको गाइगोठमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा आज धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुगे । मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आफ्नो कृषि कर्ममा तल्लिन थिए । यद्यपि मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उनी अचम्मित र खुशी भए ।

कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा पुग्ने तदारुकता देखाका छन् । यस कार्यको पात्लेखेतका जनताले खुलेर प्रशंसा गरेका छन् । कृषि क्षेत्रको विकास तथा विस्तारका लागि राज्यले अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि विभागीय मन्त्रीले किसानको घर गोठमा पुग्दा धेरै विषयको जानकारी प्राप्त हुने धारणा कृषिविज्ञ कृष्ण पौडेलको छ ।

कृषक गौतमले झण्डै ८०० रोपनी जग्गामा तरकारी तथा फलफूल र ३०० भन्दा बढी गाईपालन गरेर उदाहरणीय काम गरेका छन् । हालै गरिएको एक अध्ययनले नेपालको ४२ प्रतिशत जमिन बाँझो देखिएको छ तरपनि मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका ४० देखि ५० लाख युवा वैदेशिक रोजगारमा जानुले मुलुकमा कृषि परनिर्भरता बढेको छ । मन्त्री खनालले खेतीबाट फाइदा हुन सक्छ भन्ने हिस्सा सानो रहेको र केही गर्छौ भन्नेसँग श्रम, प्रविधि र जमिनको अभाव रहेकाले कृषिमा परनिर्भरता बढेको बताए ।