खेलकुद

चौथो चरणका खेलहरु मङ्सिर १० देखि

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । हिमालयन शेर्पाको जीतमा कर्ण लिम्बूले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती उपहार पाएको थियो ।

मध्यान्तरअघि गोलरहित बराबरीमा सकिएको खेलको ६६ औँ मिनेटमा लिम्बूले गोल गर्दै शमिालयन शेर्पालाई अग्रता दिएका थिए । लिम्बूले नै खेलको ७५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औँ मिनेटमा हिमालयनका आशिष गुरुङले आत्मघाती गोल गर्दा जावलाखेल २–१ को स्थितिमा आयो । त्यसपछि खेलमा गोल हुन सकेन र हिमालयनले खेल २–१ ले जीत्न सफल भयो ।

खेलमा हिमालयन शेर्पाका लिम्बू म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै हिमालयन शेर्पाले लिगमा दोस्रो जीत निकाल्दै दुई जीत तथा एक बाराबरीका साथ अङ्क तालिकामा सात अङ्क जोड्दै चौथो स्थानमा उक्लेको छ । जावलाखेलको भने यो लगातार तेस्रो हार हो । यसैबीच आजको खेलसँगै लिगका तेस्रो चरणका खेलहरू सकिएका छन् । अब यही मङ्सिर १० गतेदेखि चौथो चरणका खेलहरू हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

चौथो चरणको पहिलो खेलमा यही मङ्सिर १० गते त्रिभुवन आर्मी र सङ्कटा क्लब प्रतिष्पर्धा गर्नेछन् । सोही दिन दोस्रो खेलमा न्युरोड टिमी (एनआरटी) ले थ्रीस्टार क्लबको सामना गर्नेछ । दुवै खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । सोही दिन हुने तेस्रो खेलमा च्यास युथ क्लबले नेपाल पुलिसको सामना गर्नेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।