सुदूरपश्चिम

संरक्षण अभावमा वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै

कञ्चनपुर । संरक्षणको अभावमा शुक्लाफाँटा नगरपालिका– ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन प्राकृतिक ताल पुरिँदै जान थालेका छन् ।संरक्षण नहुँदा पुरैना, अजिङ्गर र नरङ्गा ताल पुरिन थालेका हुन् । वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण ताल पुरिन थालेको सामुदायिक वनका अध्यक्ष दलबहादुर ऐरले बताए । तालमा उम्रिएको बेसरम जातको वनस्पतिका कारण तालको क्षेत्रफल खुम्चिदै गएको उनले बताए । “गहिरा प्राकृतिक तालमा पहिले पौडी खेलेर मात्रै वारपार गर्न सकिने हुन्थ्यो”, उनले भने, “ताल पुरिँदै गएपछि हिँडेर वारपार गर्न सकिने भएको छ ।” चार बिगाहा क्षेत्रफलमा फैलिएको पुरैना तालमा फूल्ने कमलको सौन्दर्य हेर्नलायक रहेको छ । पूरै तालमा साउन भदौ महीनामा कमल फूल्दा दृश्यनै बेग्लै हुनेगरेको स्थानीयवासी जगतबहादुर एरेले बताए ।

दुई बिगाहा क्षेत्रफलमा फैलिएको अजिङ्गर तालमा पहिला अजिङ्गर देखिने गरेका थिए । हाल ताल पुरिँदै गएपछि अजिङ्गर लोप भएका छन् । ताल पुरिएर आधा बिघा क्षेत्रफलमा सीमित बनेको छ । नारङ्गा तालको अस्तित्वसमेत खतरामा परेको छ । ताल संरक्षणका कार्यक्रम अगाडि नबढाइए अबको पाँच वर्षभित्र ताल पुरिएर लोप हुने स्थानीयवासी बताउँछन् । प्राकृतिक तालमा वन्यजन्तुले पानी पिउने र चराचुरुङीले जलक्रिडा गर्ने गर्दछन् । हाल तालको क्षेत्रफल खुिम्चदै जान थालेपछि जलचर, चरा र वन्यजन्तुसमेत सीमित मात्रामा मात्रै देखिने गरेका छन् ।

पुरैना तालमा बाह्रैमहीना पानी रहने गरे पनि अन्य दुई तालको पानी जेठ, वैशाखमा सुक्ने गरेको छ । सामुदायिक वनले तीन तालमा माछापालनका लागि रु एक लाख वार्षिक पाउने गरी ठेक्कामा दिएको छ । सो आयबाट वन चौकिदारको तलब व्यहोर्ने गरिन्छ ।

संरक्षणका लागि योजना

ताल संरक्षणका लागि शुक्लाफाँटा नगरपालिका–९ को वडा कार्यालयले कार्य अगाडि बढाउने तयारी गरेको छ । प्राकृतिक ताललाई पुरानै अवस्थामा फर्काउनका लागि वातावरण विद्सँगको सल्लाहमा योजना बनाउन लागेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए । “ताल संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि रु चार लाख बजेट विनियोजन गरेका छौँ”, अध्यक्ष ऐरले भने, “पहिलो प्राथमिकता ताल संरक्षण गर्ने र दोस्रो प्राथमिकता ताल क्षेत्रसम्म पुग्ने सडकको ट्र्याक खोल्नु रहेको छ ।”

ताल संरक्षणका लागि सामुदायिक वनको आम्दानी समेत परिचालन गरिने उनको भनाइ छ । तीन वटै तालमा एकनासको पानी राख्नका लागि डिप ट्युवेल जडान गरिने वडा कार्यालयको योजना छ । ताललाई पुरानै अवस्थामा ल्याइएपछि भ्यू टावर निर्मार्ण, ताल वरिपरी पर्यटकलाई हिँडनका लागि बाटो निर्माण, पिकनिक स्थल निर्माण र उद्यान बनाउने योजना तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिई कार्य अगाडि बढाइने उनले बताए ।