समाचार

कमला नदी बेसिनको गुरुयोजना बन्दै: पानीको बहुउपयोगमा जोड

काठमाडौँ । कमला नदी र सो नदी बेसिनको पानीको बहुउपयोगमा ध्यान दिनुपर्ने र त्यसका लागि सामूहिक प्रयत्न जरुरी रहेकोमा जोड दिइएको छ । कमला नदीको व्यवस्थापनका लागि प्रभावित १२ स्थानीय तहले सामूहिक रूपमा व्यवहारिक कार्ययोजना बनाई लागू गर्न सहमत भएको जल तथा ऊर्जा आयोगले जनाएको छ ।

आयोगको सचिवालयको लागि अष्ट्रेलियन सरकारको सहयोगमा जलस्रोत विकास संस्थाले धनुषा, सिरहा, उदयपुर र सिन्धुली जिल्लाका १२ प्रभावित क्षेत्रका स्थानीय सरकारसँग पानीको उपयोग संरक्षण र व्यवस्थापनका लागि लक्ष्यहरु निर्धारण गरिएको छ । सरकारले सबै नदीको नदी बेसिन योजना निर्माण गर्न लागेकामा नमूना नदी बेसिन योजनाको रूपमा शुरु गरिएको रणनीति निर्माणको काम २०७६ को जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वर्षामा बाढीको विनाश र हिउँदमा पानी अभावको ठूलो समस्या रहेको सो क्षेत्रमा उचित व्यवस्थापनका लागि नीति, नियम, रणनीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । .खानेपानी, सिँचाइ, जलविद्युत्, कृषि, पर्यटन, उद्योग, व्यवसायलगायतका बहुक्षेत्रमा पानीको उपयोग हुने गरी आवश्यक योजना बनाउनु जरुरी देखिएको र त्यसका लागि रणनीतिक रूपमा काम भइरहेको आयोगको भनाइ छ ।

प्रभावित नगरपालिका र गाउँपालिकाले पहिलो लक्ष्यमा जल उत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा जीविकोपार्जनमा टेवा पु¥याउनका लागि चुरे तथा यसका प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, जीविकोपार्जनमा जोड दिइएको छ । यस्तै नागरिकको जीवनस्तर तथा आर्थिक वृद्धिका लागि जलउत्पन्न प्रकोपको न्यूनीकरण, जलस्रोतको उपलब्धता, प्रयोग र बाँडफाँडमा सुधार हुनुपर्ने आवश्यकता औँल्याइएको छ । यसैगरी व्यावसायिक र वैज्ञानिक कृषिखेतीलाई तय गरेका छन् ।

पानीको उपयोगमा सुधार, स्रोतको संरक्षण, विकास र व्यवस्थापन, कृषि तथा उत्पादकत्व बढाउन मद्दत गर्ने भूउपयोग नीति तथा अभ्यास, कृषि अभ्यास तथा उत्पादकत्वमा सुधारलगायतका लक्ष्यहरु समेत तय गरिएको आयोगले उल्लेख गरेको छ । सुनकोशी–कमला ड्राइभर्सन परियोजनाको विकासका साथै भूक्षय नियन्त्रण तथा पहिरो जोखिम क्षेत्रको पहिचान, वर्गीकरण र यसको व्यवस्थापन, चुरे संरक्षणका लागि योजना निर्माण, पशु चरण, डढेलो नियन्त्रण तथा व्यवस्थापन, नदीको दोहन र व्यवस्थापन, विपद् पूर्वतयारी, पानीको सञ्चिती वृद्धि, सिँचाइमा सुधार उच्च उत्पादकत्व भएको क्षेत्र पहिचान गरी सामूहिक खेती, खेतीयोग्य जमीनमा बढ्दो शहरीकरणमा रोकलगायतका विषयमा समेत समान धारणा तय भएको छ ।

प्रभावित धनुषाको सबैला नगरपालिका प्रमुख विजयशङ्कर साहले सुनकोशी कमला ड्राइभर्सन बनेमा प्रदेश नंं २ नै हरियाली बनाउन सकिने बताउँदै वर्षामा बाढी र हिउँदमा पानी अभावको समस्या समाधानलाई केन्द्रमा राखेर नदीको योजना बनाउनुपर्ने बताउँछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीको विचारमा पानीको मुहान सुक्ने अवस्थामा सिन्धुलीमा ठूलो चिन्ता छाएको भन्दै त्यसको समाधानका लागि वैज्ञानिक एवं व्यावहारिक योजना आवश्यक छ । मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादवले सङ्घ, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा बसेर पानी व्यवस्थापनको एकीकृत योजना निर्माण गर्न ढिलाइ भइसकेको टिप्पणी गर्छन् । कटारी नगरपालिकाका उपप्रमुख भीमकुमारी राउतले आफ्नो क्षेत्रमा पानीको समस्या चुलिँदै गएको बताउँदै पानीको मुहान सुक्न नदिन र खेतीयोग्य जमीनमा पानीको व्यवस्थापनका लागि विशेष योजना तय गरी लागू गर्नुपर्ने धारणा राख्छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीले पानीको अभावमा जीविकोपार्जनमा समेत असर पर्ने देखिएकाले त्यसको समाधान हुने गरी योजना आवश्यक रहेको बताए। अध्ययनमा संलग्न ऊर्जा मन्त्रालयका पूर्व सहसचिव केशवध्वज अधिकारीले कमला बेसिनको जलाधार व्यवस्थापनका लागि बन्ने नीतिले भविष्यमा हुनसक्ने पानीको व्यवस्थापनको समस्या समाधान गर्न सकिनेमा जोड दिए । आयोग सचिवालयका सिनियर डिभिजनल इञ्जिनीयर महेश्वर श्रेष्ठले आगामी ३० वर्षसम्मलाई लक्षित गरी सन्तुलित पानी बाँडफाँड र व्यवस्थापनलाई केन्द्रमा राखेर रणनीति बन्न लागेको जानकारी दिए ।

कमला नदी बेसिन विकास रणनीतिमा हालको पानीका उपलब्धता, यसका प्रभावित क्षेत्र र त्यहाँ गर्नुपर्ने बाँडफाँडलाई समेत ध्यान दिएर आगामी ३० वर्षको लागि लक्षित गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने आयोगले जनाएको छ ।