प्रदेश 1

सडक निर्माण पछि स्थानीय तथा तीर्थालुलाई सहज

हिलिहाङ । पाँचथरको फिदिम नगरपालिका–१४ को धार्मिकस्थल महादेव थान जोड्ने सडक निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय तथा तीर्थालुलाई सहज भएको छ । नगरपालिकाको रु पाँच लाख र स्थानीयको रु सात लाखको लागतमा सडक निर्माण भएपछि स्थानीय तथा तीर्थयात्रीलाई सहज भएको १४ नं वडाका अध्यक्ष हेमबहादुर फागोले बताए । उनका अनुसार स्थानीयले रु पाँच हजारदेखि रु एक लाख तीन हजार ५०० सम्म चन्दा दिएको र नगरपालिकाको रु पाँच लाख रकमबाट सडकको ट्र्याक खोलिएको हो । चार मिटर चौडा सडकको साढे दुई किलोमिटर ट्र्याक खोलिएको समितिका अध्यक्ष जितबहादुर राईले बताए ।

उक्त सडक निर्माण भएपछि धार्मिकस्थल महादेवथान जाने तीर्थयात्री र स्थानीयलाई कृषि तथा वनजन्यउपजका सामान निर्यात गर्न सहज भएको उनले बताए । गाउँमा उत्पादन हुने अलैँची, अदुवा, अम्लिसो, आलु, गोलिया, चिराइतो, जडीबुटी गाउँबाटै गाडीले उठाएर लैजाँदा स्थानीयलाई सहज हुने स्थानीय पूर्णधन राईले बताए ।