प्रदेश 1

निशुल्क र ६५ लाखको योगदानबाट आँखा उपचार केन्द्र सञ्चालनमा

बनियानी । झापाको भद्रपुरमा आँखा उपचार केन्द्र सञ्चालन गर्न दाताले नै जग्गा, भवन र उपकरण उपलब्ध गराएका छन् । केन्द्र सञ्चालनका लागि भद्रपुर–५ का स्व जयनारायण सरिया तथा शारदादेवी सरियाले निःशुल्क एक बिघा जग्गा, सत्यनारायण सरियाको परिवारले रू ५५ लाखको लागतमा भवन निर्माण गर्नुका साथै रू १० लाख बराबरको उपकरण समेत जडान गरिदिएका छन् ।

दाताले भौतिक संरचनासँगै उपकरण उपलब्ध गराएपछि भद्रपुरमा दुई दशकपछि आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मेची आँखा उपचार सङ्घको मातहतमा उक्त उपचार केन्द्र सञ्चालनमा आएको सङ्घका अध्यक्ष दिनेश मित्तलले जानकारी दिए ।

भद्रपुरमा २२ वर्षअघि नेपाल र भारतका आँखाका बिरामीको उपचार गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा आए पनि सङ्घले उक्त केन्द्रलाई बिर्तामोडमा सारेर मेची आँखा अस्पतालका रुपमा स्थानान्तरण गरेको थियो । ‘‘दाताले जग्गा, भवन र उपकरण उपलब्ध गराएर हस्तान्तरण गरेपछि सेवा शुरु गरिएको छ’’, अध्यक्ष मित्तलले भने, “भद्रपुरका आँखाका बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ ।”

दाता परिवारका सदस्य सत्यनारायण सरियाले आँखा जीवनको महत्वपूर्ण कुरा भएकाले आफूहरुले सहयोग गरेको बताए । ‘‘उपचार अभावका कारण साना–साना समस्याले आँखाको दृष्टि गुमाउनुपर्ने अवस्था छ’’, उनले भने, “उपचार केन्द्र शुरु भएपछि त्यो समस्या हट्ने आशा गरेका छौँ ।”

स्थानीयस्तरमा नै आँखाको उपचार हुने भएपछि स्थानीयवासी खुशी भएका छन् । प्रदेश सांसद् ओमप्रकाश सरावगीले उपचार सेवा सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।