सुदूरपश्चिम

अनुदानको चामल बिक्रीमा अनियमितता

बाजुरा । नेपाल खाद्य संस्थानबाट बिक्री हुँदै आएको खाद्यान्न संस्थानबाट ढुवानी अनुदानको चामल बिक्री वितरणमा अनियमितता भएको पाइएको छ । हिमाली गाउँपालिकाको खाद्यान्न कवाडी डिपो र धुलाचौरको अस्थायी बिक्री केन्द्रबाट ठेकेदारले सर्वसाधारणलाई मनोमानी रूपमा चामल बिक्री वितरण गरेको खुलासा भएको छ । खाद्य संस्थानले बिक्री वितरण गर्दै आएको सोना मसिनो चामल ३० किलोको डिपोबाट सर्वसाधारणलाई रु एक हजार ५५० मा बिक्री गर्नुपर्ने भए पनि ठेकेदारले रु एक हजार ६२५ मूल्यमा बिक्री गर्ने गरेको बताइएको छ ।

कवाडी डिपो र धुलाचौर अस्थायी बिक्री केन्द्र खाद्य संस्थानको भए पनि कर्मचारी नभएपछि ठेकेदारले स्थानीय निकाय, प्रहरीको रोहबरमा बिक्री गर्ने व्यवस्था रहेको छ । कसैसँग समन्वय नगरी ठेकेदारले मनोमानी रुपमा बिक्री गरेको स्थानीय अजयबहादुर मल्लले बताए । आफूले पनि ६० किलो चामल खरीद गरेको रु एक हजार ६२५ मा लिएको उनले बताए ।  प्रमुख जिल्ला अधिकारी चेतराज बरालले भने चामलको मूल्य खाद्य संस्थानको दरभन्दा बढी मूल्यमा बिक्री भएको जानकारीमा आउने बित्तिकै ठेकेदारलाई कारवाहीको लागि समात्न जिल्ला प्रहरी कार्यलय बाजुरालाई निर्देशन दिएको बताए ।

खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाका अनुसार चामल रु एक हजार ५५० मा ३० किलोमा बिक्री गर्नुपर्ने हो, बढी मूल्यमा बिक्री गरेको सुनिन आएको बताए । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार शुक्रबारनै त्यहाँको डिपोमा प्रहरी टोली खटाइ बुझ्न लगाउँदा ठेकेदारको गल्ती नभई यस आर्थिक वर्षको चामलको मूल्यसूचीनै उपलब्ध नभएको पाइएको छ । केही दिन अगाडि सुर्खेत खाद्य संस्थानबाट सामान्य मूल्यसूची उपलब्ध गराएकाले त्यसैका आधारमा बिक्री वितरण गरेको ठेकेदार नन्द महतराले स्वीकार गरेका छन् । नेपाल खाद्य संस्थान मार्तडीमा शुक्रबारनै यस आवको मूल्यसूची उपलब्ध गराउन लागेको प्रहरी प्रमुख भाटले जानकारी दिएका छन् ।