गण्डकी प्रदेश

एक परिवारद्वारा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयलाई एक परिवारले दुई लाख ५० हजार उपलब्ध गराएको छ । पोखराको अर्घौलाई कर्मथलो बनाएका उक्त स्थानका कुमबहादुर पुर्जाको परिवारले विद्यालयमा स्थापित अक्षयकोषमा शुक्रबार रु दुई लाख ५० हजार प्रदान गरेको हो ।

गाउँ छाडेर गएको ३८ वर्षपछि जन्मथलोमा आएका पुर्जाले त्यहाँस्थित देउराली आमा समूहलाई रु ५० हजार पनि प्रदान गरेका थिए । सहयोगदाता पुर्जाका परिवारलाई स्थानीय आमा समूह, बाबा समूह, विद्यालय र युवा क्लबले सम्मान गरेका थिए । निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउनका लागि स्थापित अक्षयकोषमा हालसम्म पुर्जासहित २० जनाबाट रु २५ लाखभन्दा बढी प्राप्त भएको विद्यालयका संस्थापक फासबहादुर गर्बुजाले बताए ।

बालकक्षा भवन निर्माण

दुर्गम क्षेत्रस्थित धौलागिरि गाउँपालिका–३ फलीयागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा रु नौ लाख ७२ हजार १४०को लागतमा एक कोठे बालकक्षा निर्माण गरिएको छ । उक्त विद्यालयका निमित्त प्रअ पूर्ण भण्डारीका अनुसार भवन निर्माणका लागि गुड नेवर्स इन्टरनेशनले रु सात लाख ७७ हजार ७२५, सोही विद्यालयले व्यहोरेको रु ५२ हजार र स्थानीयवासीले एक लाख ४२ हजार ४१५ बराबरको श्रमदान गरेका थिए । भूकम्प प्रतिरोधी क्षमताको बालमैत्री र अपाङ्गमैत्री पक्की भवनमा गुड नेवर्सले बसाई व्यवस्थापनका साथै शैक्षिक सामग्री पनि उपलब्ध गराएका थियो ।