समाचार

सप्तरीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

वीरगंज । सप्तरीको इनरुवामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान जानुको साथै दर्जनौ घाइते भएका छन्।

भारदह–राजविराज सडकखण्ड अन्तर्गत पर्ने इनरुवामा शुक्रवार साँझ साढे ७ बजे तीर्थयात्री बोकेको यात्रुवाहक बस दुर्घटना भएको हो। मृत्यु हुनेमा सप्तरी डाकनेश्वरी ५ की वर्ष ७० कि बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, उनकी श्रीमती र ठकनी देवी रहेका छन् । दुर्घटनामा केही यात्रुहरु घाइते भएका छन् ।

सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका करिब ६० जना यात्रु बोकेको को १ ख २७९९ नम्बरको छिन्नमस्ता माँ भगवती ट्राभल्सको बस सडक छेउमा रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।

अधिकांश यात्रु डाक्नेश्वरी नगरपालिकाकै रहेको डिएसपी भावेश रिमालले जानकारी दिए। घाइतेलाई सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्‍याएका छन् । घाइते भएका मध्ये ११ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण आधिकारिक रुपमा नखुले पनि पछाडिबाट मालवाहक ट्रकले ठक्कर हानेपछि बस सडक छेउकै पोखरीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

गएको विहिवार मात्रै डडेलधुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।