खेलकुद

प्रथम नोभिष राष्ट्रिय बक्सिङः अभिषेक र विशाल सेमिफाइनलमा

काठमाडौं । प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका अभिषेक सुनार र सुनसरीका विशाल राई सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिषेकले रामेछापका सुरज स्याङताङलाई पराजित गर्दै सेमिफाइलमा पुगेका हुन् । त्यसैगरी विशालले गुल्मीका कुमार बुढामगरलाई पराजित गर्दै सेमिफाइनल पुगे । पुरुष ४९ केजीमा काठमाडौं बक्सिङ क्लबका दीपेश राई पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष यू–२४ कै ५२ केजीको खेलबाट सफलता हात पार्दै ललितपुरका बुद्ध लामा, दाङका पदम शाही, जिमखानाका अभिषेक अधिकारी र केन्द्रीय बक्सिङका जीवन पुन पनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष यू–२४ को ५६ केजीको खेलमा जीत निकाल्दै कास्कीका पुरन राजकोट, सुनसरीका रबिन घिमिरे, भक्तपुरका सुजन पौडेल र प्लाटिनियमका डिकेश लामा सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष यू–२४ को ६४ केजीको स्पर्धामा नक्सालका मनिष भण्डारी, कास्कीका पवन गुरुङ, केन्द्रीय बक्सिङका कमल श्रेष्ठ र नक्सालका विवेक सिंह पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । पुरुष यू–२४ को ७५ केजीमा मेघदूतका एमन महर्जन, टीकाथलीका प्रिन्स खड्का, दाङका गणेश विक र प्लाटिनियमका सुमन महर्जनले आ–आफ्नो खेलमा जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राखेप कभर्डहलमा भएको महिला यू–१९ को ४८ केजीको क्वार्टरफाइनल खेलमा दाङकी सुशीला थापा र नक्सालकी रमिता श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएका छन् । महिला यू–१९ को ५१ केजीको क्वार्टरफाइनल खेलमा झापाकी अरुण योञ्जन र नक्सालकी तेजी गुरुङले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।