खेलकुद

१० वर्ष पछि मनाङद्वारा थ्री स्टार पराजित

काठमाण्डौ । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

बिहिबार भएको खेलमा मनाङले थ्री स्टारलाई २ – १ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन बिष्टले एक गोल गर्दा  एक आत्मघाती उपहार पाएको हो । थ्री स्टारका रञ्‍जित धिमालले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको ११ औं मिनेटमा अन्जन बिष्टले उत्कृष्ट गोल गर्दै मनाङलाई १ – ० को अग्रता दिलाए । हेमन गुरुङको पासमा अन्जनले सेकेण्ड बार च्याप्दै उत्कृष्ट गोल गरेका थिए । त्यसपछि खेलको १९ औं मिनेटमा थ्री स्टारका विजय धिमालले आत्मघाती गोल गरे । थ्री स्टारका किपर एलेन न्यौपानेले क्लियर गर्न खोजेको बल विजयलाई लाग्दै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा थ्री स्टार खेलमा फर्कने कोशिश गर्यो । खेलको ८५ औं मिनेटमा रञ्‍जितले पेनाल्टीमा गोल गर्दै थ्री स्टारलाई २ –१ को स्थितिमा ल्याए । मनाङका मोहमद आसिफले थ्री स्टारका अजिज मार्टिनलाई पेनाल्टी बक्समा तानेर फल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।

त्यसपछि एकतर्फी दबाब सिर्जना गरेपनि थ्री स्टारले थप गोल फर्काउन सकेन र मनाङसंग २ – १ ले स्तब्ध बन्यो । खेलमा मनाङका हेमन गुरुङ म्यान अफ दि म्याच चुनिए । जितसंगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा शत प्रतिशत जित निकाल्ने क्रममा मनाङले ३ खेलबाट ९ अंक जोडेको छ ।

मनाङले थ्री स्टारलाई नै पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको थ्री स्टारको ३ खेलबाट ६ अंक छ ।