पु.समाचार

अध्यक्ष दाहालमाथि खुकुरी प्रहार भएको भन्ने समाचार प्रति सचिवालयको गम्भीर ध्यानाकर्षण

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उनको सचिवालयले जनाएको छ ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना भएको छैन ।

आज बिहान भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उक्त व्यक्तिलाई सुरक्षाकर्मीले सम्झाई बुझाई पठाएको उनले बताए ।

यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले समाचारसमेत प्रकाशित गरेकामा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । जनयुद्ध र योद्धाको समेत अपमान हुने गरी कपोलकल्पित र भ्रमित तवरले प्रकाशित समाचारप्रति विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पनि दाहालको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको स्पष्ट पारेको छ ।