अन्तर्राष्ट्रिय

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासमा कटौती

वासिङ्टन । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले सन् २०१९ का लागि तय भएको वार्षिक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सेनाको संख्या कटौती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरियासँगको आणविक वार्तालाई सहजीकरण गर्नका लागि सैन्य अभ्यासमा कटौती गर्न लागिएको बुधबार जानकारी दिए ।

“फोल इगल नाम दिइएको सैन्य अभ्यासलाई दुई देशबीचको कुटनीतिक प्रयासलाई नोक्सान नहुने गरी आयोजना गरिनेछ,” म्याटिसले भने । दुई देशले आयोजना गर्ने नियमित फोल इगल सैन्य अभ्यास सबैभन्दा ठूलो हो । यो अभ्यासप्रति उत्तर कोरियाले जहिल्यै आपत्ति जनाउँदै आएको छ । उत्तर कोरियाले यो सैन्य अभ्यासलाई प्रत्याक्रमणको रुपमा हेर्ने गर्दछ । करिब दुई लाख दक्षिण कोरियाली र करिब तीन लाख अमेरिकी सेना सहभागी हुने यो विशाल सैन्य अभ्यासमा गत वर्ष पनि केही ढिलाइ र कटौती गरिएको थियो ।

उत्तर कोरियाका नेता किम जोङ अनसँग सिंगापुरमा जुन महिनामा भएको ऐतिहासिक शिखर वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्ने घोषणा गरेका थिए । उनको भनाइमा यो सैन्य अभ्यास धेरै खर्चिलो र उत्तेजना फैल्याउने मात्र रहेको छ । त्यसयता दुवै मुलुकले अरु पनि सैन्य अभ्यासहरु स्थगित गरिसकेका छन् । अर्को महिनाका लागि तोकिएको भिजिलान्ट एस तथा गत अगष्टमा उल्ची फ्रिडम गार्डियन नामका सैन्य अभ्यास रोकिएका छन् ।

तर उत्तर कोरियासँग हालैका दिनमा वार्ताहरु स्थगित भएका छन् । संयुक्तराज्य अमेरिकाले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण पूर्ण पारदर्शिताका साथ नगरिए उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नसकिने बताउँदै आएको छ भने उत्तर कोरियाले अमेरिकाको उक्त कदमको कडा शब्दमा निन्दा गरिआएको छ । अमेरिकाले दक्षिण कोरियामा २८ हजार ५०० सेना तैनाथ गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले उत्तर कोरियासँग मित्रतापूर्ण सम्बन्ध स्थापना गर्ने लामो समयदेखि प्रयत्न गरिरहेका छन् । उत्तर कोरियाको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम विरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषदले आर्थिक नाकाबन्दी लगाइरहेको छ । आणविक निःशस्त्रीकरणतर्फ उत्तर कोरियालाई सहमतिमा ल्याउन राष्ट्रपति मूनले उत्तर कोरियामा लगानी बढाउने र संयुक्त अन्तर–सीमा परियोजनाहरु आरम्भ गर्ने वचनबद्धता व्यक्त गरेका छन् । तर अस्त्र उत्पादन कार्यक्रम रोक्नै पर्ने अमेरिकी दबाब प्योङयाङमाथि छ ।

दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तरका जायज गुनासालाई सम्बोधन गर्नुपर्ने भनी अमेरिकी रक्षामन्त्रीले राखेका धारणामाथि सहमति जनाएका छन् । कोरिया राष्ट्रिय कुटनीतिक प्रतिष्ठानका प्राध्यापक कीम ह्यून–वूकले संयुक्त सैन्य अभ्यास कटौती हुने सम्भावना रहेको बताए । उनले भने, “ट्रम्प प्रशासनले आणविक तथा क्षेप्यास्त्र परीक्षणमा कमी आउनु सकारात्मक रहेको दाबी गरिरहेको छ । त्यहीकारण संयुक्त सैन्य अभ्यासमा पनि कटौती हुनु स्वाभाविक हो ।”

प्योङयाङले आणविक र क्षेप्यास्त्र विकास कार्यक्रम पूरा भइसकेको घोषणा गरेको छ । उत्तरले थप परीक्षण समेत आवश्यक नरहेको बताएको छ । ट्रम्पले पनि अर्को वर्षको शुरुमा कीमसँग दोस्रो बैठक गर्ने विश्वास व्यक्त गरेका छन्, तर यही बैठकको तयारीका लागि हुन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली उच्च नेतृत्वबीचको बैठक भने रद्द गरिएको छ । उत्तर कोरिया आफैँ तयार नभएकाले बैठक हुन नसकेको अमेरिकी भनाइ छ । राष्ट्रपति ट्रम्पले आफूलाई पनि ज्यादै हतार नभएको बताए।