आर्थिक

नयाँ श्रम कानूनबाट लगानीको वातावरण बन्ने अपेक्षा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानूनका कारण देशमा लगानीको वातावरण बनेको बताएका छन् । श्रमिकहरूको वर्तमान आर्थिक अवस्था विषयमा आज जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उनले श्रम र श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी नयाँ कानूनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषदको अध्यक्षसमेत रहनुभएका ढकालले देशमा उद्योगधन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानूनले नयाँ वातावरण सिर्जना गर्ने र श्रमसँग जोडिएका विविध समस्या हल गर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको बताए । यी नयाँ कानूनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासङ्घलाई पनि सहयोग पुगेको धारणा उनले राखे ।

नेपाल सरकार, रोजगारदाता, श्रमिकहरू आबद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल महासङ्घबीचको लामो छलफल र परामर्शपछि यी कानून आएका र नयाँ व्यवस्थाबमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरू पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिङ्गो अर्थतन्त्रमै यी कानूनले सकारात्मक प्रभाव पार्ने उनले बताए । श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरूको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानूनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने महासङ्घका उपाध्यक्ष ढकालले बताए ।

योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैँको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ । उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थिर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूलाई आग्रह पनि गरे । श्रमिकका समस्याका विषयलाई पनि सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानून निर्माण भएको र देशमा राजनीतिक स्थिरता पनि आएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न अब विदेशी लगानीकर्ताका लागि राम्रो र सकारात्मक वातावरण बनेको उनले बताए । सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता रहेको टोकियोबाट ढकालले जानकारी दिए।