आर्थिक

सहकारीको मुनाफा १२ करोड

चितवन । दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आवमा रु ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा आर्जन गरेको छ । विसं २०४८ साल भदौमा २६ शेयरधनीबाट शुरु भएको सहकारीले गत वर्ष कूल पूँजी रु तीन अर्ब ५३ करोड पु¥याएको छ ।

संस्थाका अध्यक्ष केशव सापकोटाका अनुसार सहकारीले रु दुई अर्ब ५६ करोड लगानी गरेको छ । निक्षेप रु दुई अर्ब ६५ करोड सङ्कलन गरेको सहकारीमा शेयरपूँजी मात्रै ३१ करोड ५० लाख पुगेको उनले बताए । संस्थामा ४५ हजार सदस्य छन् । मुख्य कार्यालय गैँडाकोटमा रहेको संस्थाका ११ वटा सेवा केन्द्र रहेका छन् । सहकारीका मानव संसाधन विभाग प्रमुख रामप्रसाद भुषालका अनुसार विभिन्न कोषमा मात्रै रु २७ करोड २५ लाख १० हजार रहेको छ जसमध्ये जगेडा कोषमा १३ करोड ३५ लाख रहेको उनले बताए ।

सहकारीले नेपालमै पहिलो पटक एटिएम सेवासमेत शुरु गरेको छ । भुषालका अनुसार सोही एटिएम कार्डबाट शेयरधनीले नेपाल, भारत र भूटानका बैंकहरुबाट पैसा निकाल्न सक्नेछन् । सहकारीले मिसकल, ट्याबलेट, स्मार्ट मोबाइल बैंकिङ, नगदरहित सेवा विस्तार गरिरहेको छ । अध्यक्ष सापकोटाका अनुसार जन्मदेखि मृत्युसम्म भन्ने नारालाई परिमार्जन गरी कोखदेखि चितासम्म भन्ने नारासाथ शेयरधनीलाई सेवा दिइरहेको छ ।