राजनीति

यदि यसो नभए मुलुकमा खतरनाक स्थिति आउन सक्छः सुजाता कोईराला

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताईन् । “दुई तिहाइको सरकार सफल भएन भने मुलुकमा खतरनाक स्थिति आउन सक्छ,” उनले भनिन् । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस कमजोर भएको कारण मुलुकमा भ्रष्टाचार मौलाएको उनको भनाइ थियो ।

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताए । उनले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो नराखे मुलुकलाई नोक्सान पुग्ने उल्लेख गरिन् । नेत्री कोइरालले पार्टी सभापतिको कार्यशैलीका कारण काङ्ग्रेस कमजोर हुँदै गएको भन्दै पार्टीलाई बलियो बनाउनका लागि कोइरालाहरु एकजुट भएको स्पष्ट पारिन् ।

“कोइरालाभित्र नेतृत्वका बारेमा कुनै मनमुटाव छैन, समय आएपछि छलफल गरेर जनमानसमा भिजेको र सङ्गठन हाँक्न सक्ने नेतृत्वलाई अगाडि सार्छौँ,” उनले भनिन् । केन्द्रदेखि स्थानीय स्तरसम्म सङ्गठन निर्माणका लागि काङ्ग्रेसले ध्यानु दिनुपर्ने उनको भनाइ थियो ।

प्रजातन्त्र बलियो भए मात्र काङ्ग्रेस बलियो हुने भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि पार्टी एकजुट हुनुपर्ने बताईन् । “काङ्ग्रेस एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा विजय हासिल गर्न सक्छ,” उनले भनिन् । पार्टी बलियो भए मात्र नेता बलियो हुने नेत्री कोइरालाको बताईन् ।