गण्डकी प्रदेश

पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

गलेश्वर । सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका कृषकले पशुपालन गर्न छोडेपछि मलको अभावमा सुन्तला उत्पादनमा कमी आएको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले बताए । बास्कुनाका २५ जनाले करीब १०० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । सुन्तला बिक्रीबाट नै गाउँमा विगतका वर्षमा वार्षिक रु २० देखि ३० लाखसम्म भित्रिने गरेकोमा यस वर्ष रु १६ देखि १८ लाख मूल्य बराबरको मात्र सुन्तला उत्पादन भएको कृषकले बताएका छन् ।

प्रतिकूल मौसम, रोग र कीराको प्रकोपका कारण विगतका वर्षको तुलनामा यस वर्ष बास्कुनामा सुन्तला उत्पादनमा कमी आएको उनीहरु बताउँछन् । २०७२ सालमा रु २८ लाख बराबरको सुन्तला बिक्री भएकोमा यस वर्ष सुन्तला उत्पादन कम भएकाले १७/१८ लाख हाराहारीमा उत्पादन हुने बास्कुनाका अगुवा कृषक गुरुङले बताए ।

कोरिया र जापान गरी १० वर्ष विदेशमा बिताएका बास्कुनाका नन्दबहादुर खत्री त्यहाँ भनेजस्तो आम्दानी गर्न नसकेपछि अन्ततः गाउँमा नै आएर सुन्तला खेती गर्न थाले पनि पछिल्लो समय सुन्तला उत्पादन घट्दै गएकोमा चिन्तित छन् ।

सय बोटबाट सुन्तला व्यवसाय शुरु गरेका खत्रीले अहिले ४०० बोट लगाएका छन् । अहिले ३०० बोटले फल दिन्छन् भने १०० बोट नयाँ रोपिएका छन् । रसिला र स्वादिष्ट सुन्तला उत्पादन हुने भनेर चर्चा पाएको बास्कुना गाउँ यति बेला सुन्तालाका कारण पहेँलै भएको छ । खत्रीले २०७३ सालमा सुन्तला बिक्री गरेर रु दुई लाख ७० हजार कमाएकोमा गत वर्ष रु दुई लाख ५० हजार आम्दानी भएको बताए ।

उनका अनुसार यो वर्ष पनि रु दुई लाखभन्दा बढी सुन्तला बिक्रीबाट आम्दानी हुने भए पनि उत्पादन घटेकाले विगतका वर्षमा भन्दा यस वर्ष आम्दानी पनि घट्ने उनको भनाइ छ । पछिल्लो समय स्थानीयले सामूहिक रुपमा व्यावसायिक तरिकाले सुन्ताला खेती गरेपछि बास्कुना गाउँको नाम नै फेरिएर सुन्तला गाउँ बनेको छ । “यस वर्ष दाना कम फलेको छ । लगातार तीन वर्षयता उत्पादनमा कमी आएको छ”, खत्रीले भने ।

२०७३ सालमा रु २३ लाखको सुन्तला उत्पादन भएको बास्कुनामा गत वर्ष घटेर रु १८ लाखको मात्र उत्पादन भएको गुरुङको भनाइ छ । बास्कुनामा सुन्तलामात्र होइन, व्यावसायिक पशुपालनसमेत गरिएको छ । “सुन्तला खेती गर्ने किसानले पशुपालन गर्न छोडेकाले सुन्तला उत्पादनमा कमी आएको हो”, गुरुङले भने । पशुपालन गरेर मलजल गर्न छोडेकाले उत्पादन घटेको हो ।

गुरुङले सुन्तलाका ६०० बोट लगाएका छन् । गुरुङले सुन्तलाबाट वर्षमै रु तीनदेखि चार लाख आम्दानी गर्ने गरेको बताए । छ सय बोटमध्ये ३०० बोटमा सुन्तला फलेका छन् भने बाँकी ३०० बोट सानै छन् । सिँचाइ अभाव र प्रतिकूल मौसमका कारण रोग कीराको प्रकोप बढ्दै गएकाले यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन कम हुने कृषकको भनाइ छ ।
जिल्लाको बेनी नगरपालिका–४ बास्कुना, राखु, रघुगङ्गा गाउँपालिका–२ भवगवती, तीनपिप्ले, मङ्गला गाउँपालिकालगायतका ठाउँमा सुन्तला उत्पादन राम्रो हुने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।