प्रदेश 1

नगरपालिकामा बारुणयन्त्रको व्यवस्था गर्न स्थानीयको माग

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ का भक्तिराम अधिकारीको घरमा मङ्गलबार दिउँसो १ः३० बजेतिर आगलागी भयो ।

विद्युत् चुहावट हुँदा अधिकारीको घर र अधिकारीले सञ्चालन गरेको पसलमा एकैसाथ आगो सल्किएको थियो । आगलागीको समयमा अधिकारी परिवार घरमा थिएनन् । अधिकारीको घर र पसलबाट एकैसाथ भीषण अगालागी भएपछि त्यसलाई नियन्त्रणमा लिन लागिपरे पनि स्थानीयवासीले सकेनन् । आगोले अधिकारीको घर र पसल आधा जति नष्ट भएपछि बल्लबल्ल छिमेकी झापाको दमक नगरपालिकाबाट दुई बारुणयन्त्र आए । तर आगलागी भएको आधा घण्टापछि आएका ती बारुणयन्त्रले अधिकारीको घर र पसलको आगो त नियन्त्रणमा लिन सकेन तर नगरका अन्य घर र पसलमा हुने क्षतिलाई भने जोगाउन सक्यो ।

आगलागीलाई नियन्त्रणमा लिन पूर्वका इटहरी, सुन्दरहरैँचा, गौरादह, विर्तामोड र धरानबाट आएका बारुणयन्त्रले सहयोग गरेका थिए । आगलागी नियन्त्रणमा छिमेकी नगरपालिका र आफूभन्दा कान्छो झापाको गौरादह नगरपालिकामा समेत बारुणयन्त्र हुँदा आफूहरुको उर्लाबारी नगरपालिकामा नभएको भन्दै स्थानीयवासीले रोष प्रकट गरिरहेका थिए ।

उर्लाबारीमै बारुणयन्त्र भएको भए अधिकारीको घर र पसललाई छिट्टै नियन्त्रणमा लिन सकिन्थ्यो उर्लाबारी–४ का राजेन्द्र पौडेलले भने, “हेर्दाहेर्दै अधिकारीको घर र पसल नष्ट भयो ।” मङ्गलबार अधिकारीको घर र पसलमा भीषण आगलागी भएपछि यहाँ बारुणयन्त्रको तत्काल आवश्यक रहेको आवाज तीव्ररुपमा उठेको छ ।

नगरका स्थानीयवासीले तत्काल बारुणयन्त्र आवश्यक रहेको भन्दै सामाजिक सञ्जालमा आवाज पोखेका छन् । अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

उर्लाबारीमा बारुणयन्त्र नहुँदा यसअघि गत साउन १ गते उर्लाबारी–६ स्थित नारायण शाहको कस्मेटिक पसलमा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भयो । नगरमा बारुणयन्त्र नहुँदा छिमेकी नगरपालिका र उपमहानगरपालिकाबाट बोलाउँदा ढिलो भएर आगोले नष्ट हुने गरेको उर्लाबारी–४ का टीका भट्टराई बताउँछन् । उर्लाबारीमा बारुणयन्त्र खरीद गर्न अब नगर कार्यपालिकाले चासो देखाउनुपर्ने वडा नं ७ का सदस्य निरोज तिम्सिना बताउँछन् ।

उर्लाबारी नगरपालिकाले बारुणयन्त्र ल्याउने कुनै योजना नै नबनाएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो एउटा स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने बताउँछन् । उर्लाबारीमा मात्र होइन रतुवामाई, पथरीशनिश्चरे, सुनवर्षी, बेलबारी, मिक्लाजुङलगायतका स्थानीय तहमा पनि आगो लाग्दा तत्काल निभाउनका लागि एउटा पनि दमकल नहुँदा समस्या भएको छ । नगर प्रमुख फागोले आवश्यक संरचना र पूर्वाधारबिनानै स्थानीय तह निर्माण गरिएका कारण पनि यस्तो समस्या आएको बताए ।