प्रदेश 2

कमला नदीमा भूतमेला भर्न ठूलो घुइँचो

लहान । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ आज गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लाग्न थालेको छ ।

सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भव्य भूतमेला लाग्ने गर्छ । सिरहासहित सप्तरी, धनुषा, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्ने गरेका छन् ।

कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नान गर्नको लागि गाउँघरबाट आज बिहानैदेखि कमला नदीको तटमा पुग्न थालेका छन् । भोलिअर्थात् मङ्सिर ७ गते कात्तिक पूर्णिमा परे पनि सर्वसाधारण आजै कमला नदीको तटमा पुगेर राति बास बस्ने र भोलि बिहानै कमला नदीमा स्नान गर्ने श्रद्धालु बताउँछन् ।

कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्नान गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय राजकुमार लामा बताउँछन् । भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलाञ्चलमा सदियौँदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । स्नानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ । आफ्नो गाउँमा धामीलाई डो¥याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरीरमा देउता चढ्नेलाई यहाँ ल्याउने गरिएको बताउँछन् ।

तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ । पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको सङ्ख्या पनि उल्लेखनीय रहने गरेका छन् ।