गण्डकी प्रदेश

चिसोले कठ्याङ्ग्रिएर भारतीय महिलाको मृत्यु

तनहुँ । चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो । कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा खुला आकाशमुनि बस्दै आएकी थिइन् ।

बुधबार साँझसम्म खुला चौरमा खाना पकाएर खाने र सोही स्थानमा सुतेकी ती महिलाको चिसोका कारण मृत्यु भएको हुनसक्ने मृतककी कान्छा छोरा मुगुराउत चौहानले जानकारी दिए । लामो समयदेखि निमोनिया र सुगरले ग्रसित ती महिलाको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।