लुम्बिनी

बढ्दै नगर क्षेत्र, खुम्चिँदै वडा प्रहरी

बाँके । प्रहरीको काम जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति गराउने भए पनि नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा वडा प्रहरी कार्यालयले अझैसम्म गस्ती गर्न सकेको छैन । वडा प्रहरी नेपालगञ्ज बजारभित्र मात्रै सीमित रहँदा आफूहरूले सुरक्षाको अनुभूति गर्न नसकेको वडा नं २० मनिकापुरका बासिन्दा बताउँछन् । उनीहरुका अनुसार राँझा क्षेत्रका केही होटलमा गलत क्रियाकलाप भइरहँदासमेत प्रहरीको भूमिका देखिँदैन ।

उपमहानगरका सबै वडामा सुरक्षा प्रदान गर्ने गरी स्थापना भएको वडा प्रहरी कार्यालयमा दुई सवारीसाधन भएपनि ती बिहानदेखि रातिसम्म नेपालगञ्ज बजारभन्दा बाहिर जाँदैनन् । उक्त प्रहरी कार्यालय अहिले नेपालगञ्ज बजारका चार/पाँच वडामा मात्रै सक्रिय देखिँदै आएको स्थानीयवासी टिएन शर्मा बताउँछन् । बाँकेमा प्रहरीका ६९ एकाइ छन् । कोहलपुरमा रहेको प्रहरीले कोहलपुर नगरपालिका क्षेत्रभर आफनो गाडी कुदाउँदै शान्ति सुरक्षा कायम गर्दै आएको छ तर नेपालगञ्जको वडा प्रहरीले भने ओल्लो–पल्लो बजार गर्दै दिनरात बिताउने गरेको आम नागरिकको गुनासो छ ।

सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, लागुऔषध, जासुसी, आतङ्कवाद, मानव बेचविखन तथा ओसारपसारजस्ता गम्भीर अपराधको अनुसन्धान गर्ने प्रहरीको प्रमुख कार्य भएपनि यहाँको वडा प्रहरीले आफ्नो कार्य क्षेत्रभित्रै पहुँच बढाउन नसक्दा पर्याप्त सुरक्षाको महसुस गराउन नसकेको हो । वडा प्रहरी कार्यालयका प्रमुख नारायण डाँगी बजारका केही वडाबाहेक अन्यत्र प्रहरीको पहुँच विस्तार गर्न नसकिएको बताउँछन् । अहिले वडा प्रहरी खुम्चिँदै आएको छ भने उपमहानगरपालिकाको क्षेत्र विस्तार भइरहेकाले २३ वटै वडामा सुरक्षा प्रबन्ध मिलाउनुपर्ने भएपनि अहिले आफूहरू नेपालगञ्ज बजारभन्दा बाहिर जान नसकेको उनी जानकारी दिन्छन् ।

पैसठ्ठी ६५ प्रहरीको दरबन्दी रहेको कार्यालयलाई २३ वटा वडाको शान्ति सुरक्षामा पहुँच पु¥याउन एकदमै कठिनाइ भएको गुनासो गर्दै प्रहरी प्रमुख डाँगी सबै वडामा पहुँच विस्तार गर्न नसकिएकाले सम्बन्धित वडा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालयको सहयोग लिने गरिएको बताउँछन्। गाउँमा वडा प्रहरीको उपस्थिति हुन नसकेकै कारण आम नागरिक विभिन्न खालका घटना, धम्कीबाट त्रस्त जीवन बिताइरहेका छन् । वडा प्रहरी नेपालगञ्ज बजारभित्रै खुम्चिँदा विभिन्न स्थानमा रहेका इलाका प्रहरी कार्यालयले वडाको समेत काम हेर्दै आएका छन् ।

“उपमहानगरका २३ वटा वडामै सुरक्षा व्यवस्था मजबुत छैन”, प्रहरी निरीक्षक डाँगी भन्छन्, “आवश्यकतानुसार माथिको आदेश बमोजिम कहिलेकाँही जाने गरेका छौँ ।” वडामा अहिले २३ वडाको सुरक्षामा पहुँच विस्तार र उपस्थितिका लागि दुई गाडी छन् तर यी गाडी पनि भगवान् भरोसाको भरमा रहेकाले बजारभन्दा बाहिर जाँदैनन् । “वडाको गाडी दिनमा एक/दुई पटक गाउँमा आइदिए पनि धेरै शान्तिको महसुस हुने थियो”, नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरको जोगीडाँडा नजिकैकी एक महिला दीपा चालिसे भन्छन्, “दिनमा एक/दुई पटक त के महीनामा एक पटक पनि प्रहरी आउँदैनन् ।”

“गाउँमा केही समस्या भइहाल्यो भने पनि प्रहरी खोज्न नेपालगञ्ज वा कोहलपुर जानुको विकल्प छैन”, स्थानीयवासी भन्छन्, “हामी पनि नगरभित्रकै वडावासी हौँ, हाम्रो सुरक्षा वडा प्रहरीले गर्नुपर्ने होइन र ?” नेपालगञ्ज विविधतामा एकताको शहर भएकाले पनि यहाँ पहाडी, मधेसी, मुस्लिम र थारू समुदायको बसोबास छ । साना गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्छ । यो कुरा विगतका घटनाले देखाइसकेको छ । घटनास्थलमा समयमा प्रहरी पुग्नु अत्यावश्यक छ तर गाडी अभाव र तेलको सीमितताले गर्दा उपमहानगरका सबै वडामा वडा प्रहरीको पहुँच पुग्न नसकेको प्रहरी प्रमुख डाँगी बताउँछन् ।