मनोरञ्जन

देउसीभैलोको रकम विद्यालयलाई

राँझा । बाँकेको राप्तीपारी फत्तेपुरस्थित दीपज्योति प्राथमिक विद्यालयले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम विद्युत् जडानमा उपयोग गरेको छ ।

राप्ती सोनारी गाउँपालिका–६ मा पर्ने उक्त विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले चार दिनसम्म मोहनपुर, हब्रवा, पदनाह, विशम्वरपुर र जोरैया गाउँमा देउसीभैलो खेलेर सङ्कलन गरेको ६२ हजार ६ सय १५ रकमले विद्यालयमा विद्युत् जडान गरिएको प्रधानाध्यापक वीरबहादुर बुढाले बताए ।

राप्ती नदी नजिकै रहेको यो विद्यालय गत वर्ष आएको बाढीले डुवानमा परेको थियो । कक्षा पाँचसम्म पढाइ हुने यो विद्यालयमा अहिले १५० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए ।

विद्यालयको आर्थिक स्रोत नभएका कारण देउसीभैलो खेलेर सङ्कलन भएको रकम विद्युत् जडान र पङ्खा खरिद कार्यमा लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले बताए ।