खेलकुद

ए डिभिजन लिगः आज तीन खेल हुने, च्यासल र एनआरटीबीच पहिलो भिडण्त

काठमाण्डौ । पल्सर सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलहरु आज हुदैछ । पहिलो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा बिहान ११ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजिमा हुनेछन् । तेस्रो चरणको खेलको सबैभन्दा रोमाञ्चक भिडन्तमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले खेल्नेछन् ।

घरेलु फुटबलको सबैभन्दा ठुलो भिडन्तले धेरै हदसम्म लिगको आगामी अंक गणितिय समिकरणका बिषयमा धेरै चिज बोल्नेछ । दुवै टोली प्रतियोगितामा अपराजित छन् । थ्री स्टारले प्रतियोगिताको लय समात्दै गर्दा मनाङलाई भने स्टार खेलाडीको चोटले सताएको छ । दुई क्लबबीचको भिडन्त भोली दिउँसो साढे २ बजे सुरु हुनेछ ।

लिगको शीर्ष स्थानमा रहेको थ्री स्टारको २ खेलबाट ६ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा मनाङ दोस्रो स्थानमा छ । दुवै टोलीले एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै तालिकाको पुछार तिर छन् । च्यासल नवौ स्थानमा रहदाँ एनआरटी १० औ स्थानमा छ ।

तेस्रो चरणको लिगमा शुक्रबार तीन खेल हुनेछ । एन्फा कम्प्लेक्समा बिहान ११ बजे हुने पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्नेछन् । सोही स्थानमा दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा विभागीय डर्बीको भिडन्त हुनेछ । जहाँ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले फुटबल शक्तिको परिक्षण गर्नेछन् ।

त्यही दिन दिउँसो साढे २ बजे काठमाडौंको हलचोक मैदानमा मछिन्द्र क्लब र संकटा क्लब तीन अंक बटुल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । संकटा लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ भने मछिन्द्र पहिलो जितको खोजिमा हुनेछ ।
तेस्रो चरणको खेलको अन्तिम दिन शनिबार बिहान ११ बजे एपीएफको हलचोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।