लुम्बिनी

सबै धर्मप्रति सम्मानको वातावरण तयार

रुपन्देही । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सबै धर्मप्रति सम्मान हुने वातावरण मुलुकमा तयार भएको बताए । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४४०औ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संस्कृति र धर्म अरु समुदायका लागि साझा भएको बताए । धर्म र संस्कृति सबैको साझा हुनुले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाउने उनको भनाइ छ ।

नेपालको संविधानले अल्पसङ्ख्यक मुसलमान समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको उल्लेख गर्दै उनले संवैधानिकरुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुसलमान समुदायप्रति सम्मान व्यक्त गरेको बताए । यतिखेर मुलुक तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ, संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिकरुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् उनले भने ।